६ बैशाख २०८१, बिहीबार

कर्णालीमा कोरोना परिक्षण सुरु


सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा कोरोनाको आशंका गरिएका बिरामीको थ्रोब स्वाव परीक्षण सुरु गरिएको छ । नेपाल सरकारले पठाएको आरटी–पीसीआर मेसिन जडान गरिए पछि विहीबारदेखि अस्पतालले प्रयोगशाला सञ्चालनमा ल्याएको हो । आरटी–पीसीआर मेसिन जडानसंगै कर्णालीमा कोरोना संक्रमित आशंका गरिएका विरामीको थ्रोब स्वाव परीक्षण गर्न काठमाडौ पठाउनु पर्ने झन्झट अन्त्य भएको छ ।
विहीबार मेसिन जडान गरिए पछि विहीबारदेखि नै ल्याव टेस्ट सुरु गरिएको स्वास्थ्य सेवा निर्देशनालयका ल्याव युनिट इन्चार्ज ओम आचार्यले जानकारी दिए । सुर्खेतमा क्वारेन्टाइनमा बसेका चार जनाको नमूना संकलन गरि परीक्षण गरिएको उनले बताए । ‘हामीले गरेको पहिलो परिक्षण कोरोना नेगेटिभ आएको छ’ उनले भने, ‘हरेक दिन परीक्षणको नतिजा सार्वजनिक गरिने छ ।’
मेसिन जडान गरिए पछि कर्णाली प्रदेश अस्पतालका छ जनाला ल्याव टेक्निसियनलाई नमूना जाँच गर्न प्रयोगशाला विज्ञ रामकृष्ण श्रेष्ठ नेतृत्वको टोलीले तालिम दिइरहेको छ । नयाँ मेसिन जडानसंगै कर्णालीका कोरोना आशंका गरिएका विरामीको एक घण्टामा रिपोर्ट निकाल्न सकिने भएको छ । दैनिक १५ नमूनाको परिक्षण गर्ने गरी अस्पतालले तयारी गरेको जनाएको छ । मेसिनसंगै कोरोना परिक्षणका लागि पाँच सय नमूना परिक्षण गर्न मिल्ने सामान अस्पतालमा रहेको बताइएको छ ।
अस्पतालमा ल्याव जाँच गर्ने जनशक्तिका लागि २० सेट व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) भए पनि जनशक्ति अभाव रहेको आचार्यले बताए । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कर्णालीमा प्रयोगशाला सञ्चालनले यहाँका विरामीहरुले सास्ती भोग्नु नपर्ने बताए । उनले सुर्खेतमा प्रयोगशाला स्थापना गरिएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला स्थापनाको तयारी भई रहेको जनाकारी दिए ।