१३ बैशाख २०८१, बिहीबार

विपद् व्यवस्थापन कोषका लागि गण्डकी बिकास बैंकको चार लाख हस्तान्तरण


सुर्खेत । गण्डकी बिकास बैंक सुर्खेतले कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी चार लाख रुपैयाँको चेक हस्तन्तरण गरेको छ । शुक्रबार बैंकका सुर्खेत शाखा प्रबन्धक प्रकाश श्रेष्ठले कर्णाली सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई चार लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
कोरोना नियन्त्रण तथा रोकथाम कार्यका लागि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सबै प्रदेशमा चार लाख रुपैयाँका दरले सरकारको विपद कोषमा जम्मा गर्ने निर्णयबमोजिम कर्णाली सरकारलाई चेक हस्तान्तरण गरिएको शाखा प्रबन्धक श्रेष्ठले बताए । ‘विपत्तको सामाना गर्न सबैको दायित्व सम्झेर सरकारको कोषमा रकम जम्मा गरिएको हो’ उनले भने ।
कोरानोले विश्वव्यापी रुपमा संन्त्रास फैलाएको र यस्तो विपत्तीको बेला सरकारलाई सहयोग गर्नु सबैको दायित्व भएको मन्त्री भण्डारीले बताए । ‘सरकारले कोष स्थापना गरेसंगै सहयोगी हातहरु जुटेका छन्’ मन्त्री भण्डारीले भने, ‘आपतविपतमा सबै जना एकजुट हुने नेपालीको संस्कार नै हो ।’ सबै क्षेत्रबाट प्राप्त सहयोग सरकारले सदुपयोग गर्ने मन्त्री भण्डारीले आश्वस्त पारे ।