१४ बैशाख २०८१, शुक्रबार

आफुखुसी राहत वितरण नगर्न नगरपालिकाको आग्रह


कालीकोटः जिल्लाको रास्कोट नगरपालिकाले आफू खुशी राहत वितरण नगर्न आग्रह गरेको छ । रास्कोट नगरपालिकाले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने व्यवस्था गरिएको जानकारी दिँदै आफू खुशी राहत वितरण गर्दा लक्षित वर्गमा नपुग्ने भन्दै त्यो नगर्न सबैलाई आग्रह गरेको हो ।
रास्कोट नगरपालिकाका नगरप्रमुख काशीचन्द बरालले एक सार्वजनिक अपीलमार्फत एकद्वारा प्रणालीबाट राहत वितरण गर्ने व्यवस्था हुँदाहुँदै केही स्थानमा अनुमति बेगर आफू खुशी राहत वितरण भएको गुनासो आएको बताएका छन् । कतिपय संघ संस्था वा व्यक्तिहरुले यस नगरपालिकाको क्षेत्रभित्र नगरपालिकाको अनुमति बेगर राहत तथा सुरक्षा सामाग्री वितरण गरेको भन्ने गुनासो प्राप्त भएको छ । यसरी आ–आफ्नो ढंगबाट राहत वितरण गर्दा राहत वितरणमा दोहोरोपन आउने, राहत पाउनुपर्ने व्यक्तिले नपाउने अवस्था आई राहत लक्षित वर्गसम्म नपुग्ने भएको हुँदा नगरभित्र वितरण राहत आफुखुसी वितरण नगरिदिन नगरप्रमुख बरालले जारी गरेको सार्वजनिक अपिलमा भनिएको छ ।
राहत स्वरुप नगरपालिकालाई नगद सहयोग गर्न इच्छुक संघ, संस्था वा व्यक्तिहरुले नगरपालिकाको ग्लोबल आइएमई बैठक रास्कोट शाखामा रहेको विपद व्यवस्थापन कोषको खाताःE२०४०१००००००७ मा सहयोग गर्न सक्ने जानकारी समेत गराएका छन् । कसैले राहतस्वरुप सामाग्री दिन चाहनेहरुले नगरपालिकाको कार्यालयमा बुझाउन प्रमुख बरालले आग्रह समेत गरेका छन् । प्राप्त नगद तथा सामाग्री नगरपालिकाले आफ्नो संयन्त्रमार्फत लक्षित वर्गसम्म वितरण गरी विवरण गरेको राहतको सार्वजनिक गरिने समेत अपिलमा भनिएको छ ।