कर्णालीमा कोरोना संक्रमितको संख्या ११ पुग्यो

सुर्खेत । थप सात जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । प्रदेश प्रयोगशालामा गरिएको पाँच जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि पुनः पुष्टिका लागि नेपालगञ्ज पठाइएको थियो । नेपालगंजमा गरिएको पुनः परीक्षणमा पाँचै जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक डा. रीता भण्डारी जोशीले जानकारी दिइन् ।

नयाँ संक्रमितमा दैलेख सदरमुकाम नारायण नगरपालिका–३ का १५ वर्षीय र नारायण नगरपालिकाका किशोर छन् । त्यसैगरी त्यसैगरी डुंगेश्वर गाउँपालिकाका २९ वर्षीय पुरुष उनकी २७ वर्षीया श्रीमती र सोही ठाउँका २७ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको हो । उनीहरू सबै भारतबाट आएका हुन् । संक्रमण पुष्टि भएका पाँचै जनालाई आइतबार नै सदरमुकामको सरस्वती मावि तर्ताङमा रहेको कोरोना आइसोलेसन वार्डमा राखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकलपर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए ।

त्यसैगरी प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोशाला सुर्खेतमा गरिएको परीक्षणमा पनि थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णाली प्रदेशमा यसअघि सुर्खेतका तीन जना र दैलेखका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।