वनका कर्मचारीद्धारा शिकारीको बन्दुक बरामत

 

कालिकोटः जिल्लाको तिला सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत पुर्णवहादुर थापा सहितको सात जनाको निशष्त्र टोलीले शिकारीको भरुवा बन्दुक बरामत गरेको छ । जिल्लाको तिलागुफा नगरपालिका वडा नं. ५ को लालिडाँफे सामुदायीक वनबाट तिला सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत पुर्णवहादुर थापा, वन रक्षक द्धय प्रजापती पाण्डे, तिलबहादुर रावल सहितको सात जनाको निशष्त्र टोलीले शिकारीको भरुवा बन्दुक बरामत गरेको हो ।
सामुदायीक वनमा नियमित गस्ती गएका बेला शिकार गर्न गएका शिकारीले वनमा लुकाएर राखेको अवस्थामा भरुवा बन्दुक फेला पारी बरामत गरेको डिभिजन बन कार्यालय कालिकोटका सहायक वन अधिकृत तथा सूचना अधिकारी कृष्णराम धितालले बताए । उनका अनुसार जंगलमा वनका कर्मचारीको गष्ती टोलीले शिकारीले जंगल भित्रको ओडारमा लुकाएर राखेको बन्दुक सहित ९ थान गोली, १० थान केप, एक थान सलाई, आधा डब्बा बारुद्ध, एक थान झोला फेला पारी बरामत गरेको छ ।
तिला सब डिभिजन कार्यालयका सहायक वन अधिकृत थापाले भने, जंगलमा टाढाबाट मानिसहरुलाई देख्दा आफुहरुले भेटाउन खोज्दा फरार भए । जंगलमा देखिएका मानिसहरु एका एक किन भागे भनेर ती मानिस भएको ठाँउको आसपासमा खोजी गर्दा जंगलभित्रको ओडारमा भरुवा बन्दुक सहित गोली, बारुद सलाई लगायतका सामाग्रीहरु छोपेर राखेको अवस्थामा फेला परे । जंगलमा शिकारीको बन्दुक सहितका सामाग्रीहरु फेला परेपछि छड्के गष्ति बढाएको उनले बताए ।
डिभिजन वन कार्यालयले शनिबार बरामत भएको भरुवा बन्दुक सहितका सामानहरु सूरक्षाको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । उक्त घटनाको थप छानबिन अगाडी बढाईएको डिभिजन वन कार्यालय प्रमूख ललितकुमार कर्णले बताए । उनका अनुसार जिल्लामा रहेका चारवटा सब डिभिजन कार्यालयहरु छन् । ती कार्यालयबाट नियमित रुपमा टोली खटाई लकडाउनका बेला पनि वनमा गष्ति गर्ने गरिएको छ । वनमा हुने चोरी शिकारी नियन्त्रण, वन्यजन्तुको संरक्षण तथा अवैध काठ तस्करी रोक्ने कार्य नियमित रुपमा भईरहेको छ ।