८ बैशाख २०८१, शनिबार

कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो


सुर्खेत ।  कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । सोमबार कर्णालीमा थप ११० जना कोरोना संक्रमित फेला परेका छन् ।

प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १०७ र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३ जना कोरोना संक्रमित गरी ११० जना नयाँ संक्रमित फेला परेका हुन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत जिल्लाका १९ र दैलेख जिल्लाका ९१ जना नयाँ संक्रमित रहेका छन् । योसँगै कर्णालीमा संक्रमितको संख्या १०७७ पुगेको छ । सोमबार मात्र कालिकोट अस्पतालमा २५ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रदेश अस्पताल २३ र लेकबेसी आइसोलेसन कक्षबाट ९ जना निको भई डिस्चार्ज भएका छन् । कर्णालीमा संक्रमणपछि निको हुनेको संख्या १५१ पुगेको छ  । कोरोनाका कारणले कर्णालीमा ३ जना मृत्यु भएको छ ।