कर्णालीको सरकारको ल्यायो ३३ अर्व ७४ करोड बजेट

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७÷०७८ को लागी ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सोमबार कर्णाली प्रदेश सभामा ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजारको बजेट प्रस्तुत गरेका हुन् । कर्णाली सरकारले चालु खर्चतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार र पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार रुपैयाँ विनियोजन गरेको छ । संघीय सरकारबाट प्राप्त अनुदान, राजश्व बाँडफाँडबाट प्राप्त रकम, बिशेष अनुदान तथा समपुरक बजेट र आन्तरिक राजस्व समेत गरी उक्त बजेट तयार पारिएको मन्त्री ज्वालाले बताए ।
आगामी आर्थिक वर्षको लागि आन्तरिक राजस्वबाट ३० करोड ६ लाख, ५३ हजार, चालु आर्थिक वर्षको खर्च नभई बाँकी रहन जाने रकम ११ अर्ब १९ करोड ९ लाख ८५ हजार, संघीय सरकारबाट राजश्व बाँडफाँड वापत प्राप्त हुन आएको रकम ७ अर्ब ३९ करोड ५६ लाख र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको ९ अर्ब ५३ करोड २९ लाख र सशर्त अनुदानबाट ४ अर्ब ४९ करोड ११ लाख रुपैयाँ प्रदेशको बजेट छ ।
कर्णाली सरकारले नेपाल सरकारबाट प्राप्त हुने समपुरक अनुदान २५ करोड २५ लाख र बिशेष अनुदानवाफत ४६ करोड प्राप्त गर्ने अनुमान गरी बजेट बनाएको जनाइएको छ । त्यस्तै बैदेशिक सहायताबाट प्राप्त हुने कार्यक्रम एक करोड ७६ लाख १५ हजार स्रोत परिचालन गर्ने गरी सरकारले बजेट बनाएको मन्त्री ज्वालाले बताए । कर्णाली सरकारले कोभिड १९को रोकथाम नियमन्त्रण र उपचारलाई प्राथमिकतामा राखेर बजेट बनाएको जनाएको छ ।

कोभिड १९ केन्द्रित बजेट
सरकारले आगामी बर्षका लागि ल्याएको चालुतर्फको बजेट अन्तर्गत कोभिडको नियन्त्र र रोकथामका लागि ८७ करोड ४१ लाख र कोभिड अन्तर्गत रोजगारी सिर्जनाका लागि २ अर्ब ५८ करोड २६ लाख बजेट विनियोजन गरेको छ भने अन्य कार्यक्रम र प्रशासनिक खर्चमा आठ अर्ब ५१ करोड ९० लाख ३२ हजार विनियोजन गरिएको छ । आगामी आर्थिक बर्ष कर्णालीमा कोभिड १९ रोगबाट मृत्यु हुने व्यक्तिका परिवारलाई १ लाख राहत दिने, प्रदेश अस्पतालमा दुई सय आइसोलेसन बेड, ४० सघन उपचार कक्ष (आई.सि.यु.) र २० भेन्टिलेटर सहितका विशेष सघन उपचार कक्ष बनाउन बजेट विनियोजन गरेको छ ।
प्रदेशका सबै जिल्ला अस्पतालमा कम्तिमा पचास वटा आइसोलेसन बेड, कम्तिमा दश सघन उपचार कक्ष (आई.सि.यु.) र कम्तिमा पाँच भेण्टिलेटर सहितको सघन उपचार कक्ष तयार गर्न बजेट विनियोजन गरिएको छ । प्रदेश अस्पताललाई ३ सय शैयाको शिक्षण अस्पताल बनाउने, राकम कर्णालीमा ट्रमा अस्पतालको स्थापना गर्ने, घुम्ती अस्पतालको अवधारणा र दूर स्वास्थ्य (टेलिमेडिसिन) सेवा सञ्चालन गर्ने लगायतका कार्यक्रमसहित स्वास्थ्य क्षेत्रका लागि करिब नौ प्रतिशत बजेट विनियोजन गरिएको मन्त्री ज्वालाले बताए ।

खाद्यान्न संकट टार्न एक स्थानीय तह एक भकारी
विगतदेखि नै खाद्य संकट भोगिरहेको प्रदेशले कोभिड १९को महामारीसंगै मुलुक र प्रदेश बाहिर रोजगारीका लागि गएका हजारौं कर्णालीबासी वर्तमान अवस्थामा थप खाद्यान्न संकट हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै खाद्य भण्डारण र आपूर्तिका लागि एक स्थानीय तह एक अन्न भकारी कार्यक्रम ल्याइएको छ । आफ्नो गाँउ ः आत्मनिर्भर बनाऔँ अभियानमा ७ अर्ब उत्पादन बजेट रोजगारीका लागि विनियोजन गरिएको छ ।
कोरोना महामारीबाट फर्किएका बेरोजगार युवालाई श्रममूलक रोजगारीको माध्यमबाट विकास क्रियाकलापसँगै रोजगारी सिर्जना गर्न मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ । श्रम सहितको रोजगारी कार्यक्रम, रोजगामूलक पूर्वाधार विशेष कार्यक्रम, सामाजिक सुरक्षा तथा जीविकोपार्जन कार्यक्रम अन्तर्गत सञ्चालन हुने गरी खाना, नाना र छाना कार्यक्रम र १ करोडसम्मका आयोजनाको कार्यान्वयन गर्दा मेशिन÷उपकरणको प्रयोग नगर्ने नीति घोषणा गरिएको छ ।

एम्बुलेन्सबाहेकका सवारी साधन खरिद नगरिने
कर्णाली प्रदेश सरकारले आगामी बर्षको बजेटमा प्रशासनिक खर्चमा कटौती गरेको छ । सरकारका नयाँ संगठन संरचना स्थापना नगर्ने, एम्बुलेन्स बाहेकका सवारी साधन खरिद नगर्ने, मन्त्री, राजनीतिक पदाधिकारी तथा कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक भत्ता, खाजा खर्च र जोखिम भत्ता खारेज गरिएको छ । कार्यालय सञ्चालन, मर्मत, इन्धन, विविध खर्च, भ्रमण खर्च, फर्निचर लगायतका शिरोभार खर्चमा करिब ६० प्रतिशत कटौती गरिएको छ । (पुरा बजेट पढ्न यो लिंक खोल्नुहोला)   कर्णाली प्रदेश सरकारको आ.ब. २०७७-७८ को बजेटको पूर्णपाठ