छात्रवृत्तिको रकममा अनियमितता

सुर्खेत । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ५ स्थित देउती आधारभूत विद्यालयमा दलित बालबालिकालाई प्रदान गरिने छात्रवृत्तीमा अनियमितता भएको छ । छात्रवृत्तीको रकम बालबालिकालाई वितरण नगरेरै बैंकको खाताबाट निकालिए पछि अनियमितता देखिएको हो । गत चैत्र अगाडि छात्रवृत्ती रकम बालबालिकालाई वितरण गर्ने भनिए पनि वितरण विना नै बैंकबाट रकम झिकेको पाइएको छ ।
गत शैक्षिक सत्रको छात्रवृत्ती वितरण नभए पछि अविभावकले जिल्ला प्रशासनमा उजुरी दिएका छन् ।

उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले विद्यालयका प्रधानाध्यापक अनिता कुमारी न्यौपाने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद रेग्मीलाई तीन दिनभित्र स्पष्टीकरणसहित बैंक स्टेटमेन्ट पठाउन निर्देशन दिएको जनाएको छ । साउन नौ गते प्रशासनले पत्र काटेको आइतबार तीन दिन पुरा भए पनि साँझ कार्यालय समयसम्म प्रअ र विव्यस अध्यक्षको स्पष्टीकरण आइनसकेको जनाइएको छ ।

रकम वितरण नभएको खबर सार्वजनिक भए पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद रेग्मी र प्रधानाध्यापक अनिता कुमारी न्यौपान आरोप प्रत्यारोपमा उत्रिएका छन् । अध्यक्ष रेग्मीले छात्रवृत्ती बाड्नेकाम विद्यालयका प्रअकनो भए पनि वितरण गर्न नसकेको बताए । ‘निर्णय गरिसके पछि प्रअले वितरण गर्ने कुरा भएको थियो तर हालसम्म पनि वितरण भएको रहेन छ’ उनले भने, ‘प्रशासनको चिठी आए पछि र स्थानीयले विरोध गरेपछि मात्र थाहा पाएँ ।’

प्रधानाध्यापक अनिता कुमारी न्यौपानेले चैत ६ गतेको विद्यालय बैठकले चैत १५ गते वितरण गर्ने निर्णय भए पनि लकडाउनका कारण वितरण हुन नसकेको बताईन् । ‘१५ गते पछि लकडाउनका कारण वितरण गर्न पाइएन’ उनले भनिन, ‘असारमा लकडाउन खुकुलो भए पछि वितरणको लागि पटक पटक बैठक बस्न आग्रह गरे पनि अध्यक्षले बैठक बस्न मान्नु भएन । त्यसैले वितरण हालसम्म नभएको हो ।’ बैंकबाट रकम झिकिएको कुरामा सत्यता नभएको उनले बताईन् ।

विद्यालयका १ सय २५ भन्दा बढि दलित बालबालिकालाई ४ सयका दरले छात्रवृत्ति वितरण गर्ने निर्णय गरेको प्रअ न्यौपानेको भनाई छ । जिल्ला प्रशासनको चिठी आफु कहाँ अहिलेसम्म पनि नपुगेको भन्दै चिठी आफु कहाँ पुगेको सजिलै जवाफ दिने बताईन् ।

यता शनिबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले प्रअ अनिता न्यौपानेलाई निस्कासन गरेको छ । व्यवस्थापन समितिका अध्यक्ष रेम्मीले प्रअ न्यौपानेलाई बैठकमा बोलाए पनि नआएकाले अभिभावक भेलाले प्रअबाट हटाएको जानकारी दिए । ‘शनिबार अभिभावकले उक्त छात्रवृत्तिको बारेमा बुझ्न भेला गरेका थिए’ उनले भने, ‘भेलामा उहाँ आइदिनुभएन । अभिभावकले प्रधानाध्यापक पदबाट निस्कासन गर्ने घोषणा पनि गरिसकेका छन् ।’

तर प्रअ न्यौपानेले आफु विद्यालयमा आएको पौष्टिक आहार कार्यक्रमको लागि विद्यार्थीको आइडी कार्ड बनाउन विद्यालय बाहिर गएकोले केही जानकारी नभएको बताईन् । रातारात अविभावकलाई फोन गरेर खाजा समिति गठन गर्ने भन्दै बोलाएर प्रअ निस्कासनको निर्णय गरिएको सुनेको उनले बताईन् । ‘शिक्षा ऐन अनुसार अभिभावक भेला प्रअले बोलाउने हो’ उनले भनिन, ‘प्रअलाई जानकारी नै नगराई हतार हतार भेला गरिएको छ, त्यो भेलाले गरेको निर्णय अवैध हुन्छ ।’

error: Content is protected !!