जुम्ला कोरोना संक्रमणमुक्त

जुम्ला । जुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा एकजना संक्रमित निको भएर घर फर्केपछि जुम्ला कोरोना भाइरस संक्रमणमुक्त भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा बाँकी रहेका एकजनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि संक्रमितको संख्या जुम्लामा शून्य भएको प्रतिष्ठानका डा. धीरज गुरुङले बताए । प्रतिष्ठानका विशेषज्ञ डा. गुरुङले सुरुसुरुमा जिल्लामा कोरोनाको संक्रमण कम देखिए पनि बीचमा बढ्न पुग्यो र यसले निकै डरको अवस्था सिर्जना पनि गरेको बताए ।

जिल्लालाई संक्रमणमुक्त बनाउन सबैको अथक प्रयासबाट सम्भव भएको उनले बताए । उनले परीक्षणको दायरा बढाउँदा अझै संक्रमण भेटिन सक्ने भएकाले उच्च सतर्कता भने अझै कायम गरिरनुपर्ने अवस्था रहेको उनले बताए ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले कोभिडको त्रासको अवस्थामा स्वास्थ्यकर्मी र सरोकारवाला निकायहरूले गरेको सहयोग अतुलनीय रहेको बताए ।

स्वास्थ्यकर्मीलाई सम्मान
संक्रमित शून्य भएपछि कोभिडविरुद्धको अभियानमा काम गर्ने सबै स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । जिल्लामा सबै उपलब्ध नहुने भएकोले सांकेतिक रूपमा उपलब्ध स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको समन्वयमा कोरोनाविरुद्ध लड्ने प्रतिष्ठान र जनस्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मीहरूलाई सम्मान गरिएको हो ।

सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले अहिले संकटको समयमा स्वास्थ्यकर्मी नागरिकका लागि वास्तविक नायक साबित भएको बताए ।

१,६५८ निको भई फर्किए
यसैबीच सोमबारसम्म कर्णालीका एक हजार छ सय ५८ जना कोरोना संक्रमण मुक्त भई घर फर्किएका छन् । सोमबार कर्णालीका विभिन्न आइसोलेसन सेन्टरबाट १४ जना कोरोना निको भई घरफर्किए पछि निको हुनेको संख्या बढेको हो ।

सोमबार प्रदेश अस्पताल सुर्खेतबाट ३ जना, सुर्खेतको वीरेन्द्रनगर आइसोलेसनबाट १० जना र स्वास्थ्य विज्ञान प्रष्ठिान जुम्लाबाट १ जना संक्रमणमुक्त भई घर फर्किएको डा. तिवारीले बताए ।

हाल कर्णालीमा २ सय २६ जना सक्रिय संक्रमितको विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । हालसम्म कर्णाली प्रदेशमा ६ जनाको कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

error: Content is protected !!