८ बैशाख २०८१, शनिबार

बाबियाचौर र विद्यापुरमा फोरजी सेवा सुरु


सुर्खेत । सुर्खेत पश्चिम क्षेत्रमा पर्ने बाबियाचौर र विद्यापुरमा नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ । पञ्चपुरी नगरपालिका अन्तर्गतका यी दुई ठाउँमा मंगलबार (आज) देखि फोरजी सवा सुरु गरिएको हो । विशेषगरी जिल्लाका सदरमुकाममा र आसपासका क्षेत्रमा मात्र फोरजी सेवा दिइरहेको टेलिकमले पश्चिम सुर्खेतमा पहिलो पटक सेवा विस्तार गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री एवं उक्त निर्वाचन क्षेत्रका संघीय सांसद् नवराज रावतले पश्चिम सुर्खेतमा नेटवर्क अपग्रेड तथा गुणस्तरीय सेवा प्रदान गर्नका टेलिकमलाई अनुरोध गरेका थिए । त्यसको केहि समय पछि फोरजी सेवा सुरु गरेको हो ।

यी दुई ठाउँ सहित पोखरीकाँडा, छाप्रे, सालकोट, डाडाकाना, वेतान, लगाम, तल्लो बिजु, राग, कालावन, पल्लो राग, तिखाकुना क्षेत्रका टावरबाट सेवा अपग्रेड गर्न पत्र मार्फत टेलिकमको केन्द्रीय कार्यालयमा अनुरोध गरेका थिए ।

फोरजी सेवा विस्तार गरेकोमा धन्यवाद दिँदै राज्यमन्त्री रावतले आगामी दिनमा बाँकी रहेका क्षेत्रमा पनि सेवा बिस्तारका लागि पहल जारी रहने बताए ।

फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्ड मार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार गर्न सजिलो हुने इन्जिनियर विराज काफ्लेले जानकारी दिए ।

सेवा सुरु गर्न गएका इन्जिनियर काफ्लेले विद्युत सेवा नभकाएले सोलारबाट फोरजी सेवा सुरु गरिएकोले लगातार घाम नलाग्दा भने केही असज हुनसक्ने बताए ।

फोरजी सेवाले सूचना प्रविधी मार्फत शिक्षण लगायतमा सहज हुने पञ्चपुरी नगरपालिका वडा नं.५ का अध्यक्ष होमबहादुर रामजालीले बताए ।