१४ बैशाख २०८१, शुक्रबार

कालिकोटको सान्नीत्रिवेणीमा पहिरो, दुई जनाको मृत्यु


कालिकोट । निरन्तरको बर्षाका कारण जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका ६ स्थित लाटे खोलामा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ ।  पहिरोमा परी गाउँपालिका वडा नम्बर ६ का ६० वर्षीय प्रशुराम संज्याल र २८ वर्षीया तारा संज्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी श्यामबाबु ओलीयाले जानकारी दिए ।

प्रमुख ओलीयाका अनुसार प्रशुराम खानेपानीको लाइन जोड्नका लागि खोलापारी गएको र तारा संज्याल खोला पारी रहेको गोठमा गाईबस्तुलाई घाँस–पानी दिन गएर फर्किने क्रममा पहिरोमा परी मृत्यु भएको हो ।

यससँगै बाढी र पहिरोमा परी कालिकोटमा १४ जनाले ज्यान गुमाएका छन् भने ६ जना अझै बेपत्ता छन् । यस अघि मंगलबार र बुधबार कालिकोटकै नरहरीनाथ गाउँपालिका र रास्कोट नगरपालिकामा ठूलो पहिरो गएको थियो ।