६ बैशाख २०८१, बिहीबार

कर्णालीका अधिकांश सडक अवरुद्ध


बुधबार साँझ सियाकोट–तल्लोडुंगेश्वर सडक खण्डमा पर्ने रती खोला आएको ठूलो बाढीले सवारी फसे पछि उद्धारमा जुटेका यात्रुहरु
तस्विर ः सुरेश बरालको फेसबुकबाट

सुर्खेत । कर्णालीको दैलेख–सुर्खेत सडकखण्ड, मध्यपहाडि लोकमार्ग, कर्णाली राजमार्गलगायतका विभिन्न स्थानमा साना–ठुला पहिरो खसेपछि यातायात अवरुद्ध भएका छन् । लगातारको वर्षाले दैलेख–सुर्खेत सडकखण्ड, कालिकोटको नाग्मदेखि जुम्लाको खलङ्गा जोड्ने सडक अवरुद्ध भइरहेका छन् ।

बिहीबार कर्णाली राजमार्गको राकम कर्णालीको पाल्ताडामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भयो । सुर्खेत–दैलेख सडकखण्डको गुराँस गाउँपालिकामा पर्ने घोडाबासमा समेत पहिरो जाँदा सडक अवरुद्ध भयो । यस्तै दैलेखको गुराँस गाउँपालिका–४ सियाकोट–तल्लोडुङ्गेश्वर सडक खण्डको रतीखोलामा बाढिसँगै आएको पहिरोले दिन भर सडक अवरुद्ध बनायो ।

सल्यानको सल्लीबजारदेखि रुकुम–चौरजहारीहुँदै डोल्पा जाने सडक समेत अवरुद्ध भएको छ । सल्यानको कुमाख गाउँपालिका–२ खारखोलामा आएको बाढी–पहिरोले सडक नै बगाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी राजेशनाथ बास्तोलाले बिहीबार साँझसम्म कर्णाली राजमार्गको कालिकोटदेखि तल, दैलेख सुर्खेत सडकखण्डको घोडाबास, सियाकोट–तल्लोडुङ्गेश्वर सडक खण्डको अवरोध हटाइए पनि अन्य क्षेत्रको अवरोध हटाउने क्रम जारी रहेको जनाएका छन् ।

बास्तोलाले कर्णाली राजमार्गको कालिकोट जुम्ला खण्डमा गगने खोला, नाग्मलगायतका आधा दर्जन भन्दा बढी स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको बताएका छन् । सल्ली, रुकुम चौरजहारी हुँदै डोल्पा जोड्ने सडकको अवरोध हटाउने काम भइरहेको जानकारी दिए । यता कर्णाली राजमार्गको तल्लोडुङ्गगेश्वरदेखि दुल्लु जोड्ने सडक, मध्यपहाडी राजमार्गको दुल्लुदेखि चामुण्डा बिन्द्रासैनी नगरपालिकासम्मको सडक खण्डमा वर्षातमा सवारी आवत जावत बन्द भएको छ ।

कर्णालीका मुख्य राजमार्गहरुलगायत अन्य बाटाघाटा वषाको समयमा प्रायः पहिरोको जोखिममै रहन्छन् । यात्रुहरु केहि बिच बाटोमै अलपत्र पर्नुपर्ने अवस्था छ । एस एसपी बास्तोलाले लगातारको बर्षाका कारण बाटो छिन छिनमा सडक अवरोध हुने गरेको बताए । ‘बर्षाका कारण राजमार्गहरुमा छिन छिनमा पहिरो गइरहेको छ’ उनले भने ‘जिल्ला प्रहरी, ईलाका कार्यालयले उद्धारमा खटिईरहेका छन् । पहिरोको जोखिममा रहेका नागरिकलाई सुरक्षीत स्थानमा सार्ने काम भईरहेको छ ।’

‘बाटोभरी पहिरो जान्छ । कहाँकसवेला रोकिनुपर्ने हो ठेगान नै छैन’, बुधबार साँझ सुर्खेतबाट कालिकोट तर्फ लागेका तर पहिरोले सडक अवरुद्व भए पछि दैलेखको रतीखोलाबाट फर्केका सुरेश बरालले भने, ‘रतीखोलामा आएको ठूलो बाढीका कारण अघि जान सकिएन । तत्काल सडक सञ्चालनमा नआउने भएपछि वीरेन्द्रनगर फर्कियौँ ।’

सडक निर्माण समयमा आवश्यक अध्ययनको कमीले मनपरी रुपमा डोजर चलाएका कारण बाढी पहिरोको जोखिम थपिउको इन्जिनियर नवीन थापाको धारणा छ । सडक निर्माण गर्दा डिपिआर अनुसार नगरिने जस्ता क्रियाकलापले यस्तो समस्या आउने उनि बताउछन् । ‘सडक निमार्ण गर्दा सडक विभागको मापदण्ड अनुसारको सडक निर्माण गर्नुपर्ने हुन्छ’ उनले भने, ‘पछिल्लो समय स्थानीय तहले मापदण्ड विपरित जथाभावी सडक निर्माण गरिरहेको पाइन्छ । त्यसले गर्दा पछि बाढी–पहिरोको समस्या निम्त्याउछ ।’

सडक निर्माण गर्दा सडक विभागको मागदण्ड अनुसार दोहोरो लेनका लागि नाला छोडेर सात मिटर र एकल लेनका लागि तीन दशमलव ७५ प्रतिशत हुनुपर्ने बताए । तर पछिल्लो समय स्थानीय तहले निर्माण गर्ने कतिपय सडकहरुमा त्यो पुरा भएको नपाइएको उनको भनाई छ ।