हुम्लाका विद्यालयमा पठनपाठन सुरु

हुम्ला । कोरोना भाइरसको त्रासकाबीच हुम्लाका विद्यालयहरुमा पठनपाठन सुरु गरिएको छ । गाउँपालिकाहरुले विद्यालयमा पठनपाठन सुरु गर्ने निर्णय गरेसँगै हुम्लाका विद्यालयले पठनपाठन सुरु गरेका हुन् । ताँजाकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्लले लामो समयको बन्दाबन्दीले बन्द रहेका गाउँपालिकाका सबै विद्यालयहरुमा पठनपाठन सुरु भएको जानकारी दिए ।

उक्त गाउँपालिकाले एक साताअघि सबै विद्यालयमा पठनपाठन सुरु गर्ने निर्णय गरेको थियो । अध्यक्ष मल्लका अनुसार पठनपाठन सुरु हुनुअघि क्वारेन्टिन निर्माण गरिएका कक्षा कोठालाई सेनिटाइज गरिएको थियो । माध्यमिक र आधारभूत गरी ताँजाकोटमा १६ वटा विद्यालय रहेका छन् । ताँजाकोटका सबै विद्यालयमा गरेर दुई हजार पाँच सय विद्यार्थी रहेको अध्यक्ष मल्लले बताए ।

पठनपाठनका बेला विद्यालयमा स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाइएको बताउँदै गाउँपालिकाको शिक्षा शाखाका प्रमुख जयरुद्र ढकालले हाललाई गाउँमै बस्दै आएका स्थानीय शिक्षकबाट पठनपाठन हुने र जिल्ला बाहिर रहेका शिक्षकलाई साउन २२ गतेसम्म आइपुग्न निर्देशन दिएको बताए ।

बाहिरबाट आउने शिक्षकका लागि आरडिटी परिक्षणपछि आउने रिपोर्टका आधारमा मात्र विद्यालयमा पठाउने व्यवस्था गाउँपालिकाले गरेको छ । ताँजाकोटसहित हुम्लाका तीन वटा गाउँपालिका गरी ४९ वटा विद्यालयहरुमा पठनपाठन सुरु भएको छ । यसअघि खार्पुनाथका १७ वटा विद्यालयमा साउन ५ गते र नाम्खा गाउँपालिकाका १६ वटा विद्यालयमा साउन ११ गतेबाट पठन पाठन सुरु भइसकेको छ ।

error: Content is protected !!