कर्णाली राजमार्गमा तीन दर्जन बढी ठाँउमा पहिरो

कालीकोटः पहिरोका कारण कर्णाली राजमार्ग अबरुद्ध भएको छ । कर्णाली राजमार्गको जुम्ला सुर्खेत सडकखण्ड अन्तरगत कालिकोट खण्डमा मात्र तीन दर्जन भन्दा बढी स्थानमा पहिरो जाँदा कर्णाली राजमार्ग तीन दिनदेखी अबरुद्ध भएको हो ।
तीन दिनदेखी अबरुद्ध कर्णाली राजमार्गमा तीन दिनयता सवारी आगमन बन्द रहेको छ । कर्णाली राजमार्गको दैलेख र कालिकोटको सिमाना दहिखोला, गगने खोला, काले खोला, शेरीघाट, मान्म, ताडी, बिहानी खोला, शेरावाडा, टाकुल्ला, खल्लागाड लगायतका तीन दर्र्जन भन्दा बढी ठाँउमा पहिरो खसेको डिभिजन सडक कार्यालय जुम्लाका इन्जीनियर लिलाबहादुर भण्डारीले बताए । उनका अनुसार पहिरोका कारण तीन दिनदेखी अबरुद्ध राजमार्ग खुलाउनका लागि जुम्लादेखी डोजर सहित डिभिजन सडक कार्यालय जुम्लाको टोली पहिरो पन्छाउदै कालिकोट आईपुगेको छ ।
उनले भने, ‘हामी सडकमा खसेको पहिरो पन्छाउदै कालिकोट आईपुगेका छौँ । जुम्लाको नाक्मादेखी कालिकोट सदरमुकाम मान्मसम्म मात्र ३० वटा पहिरोहरु पन्छाएका छौँ । अब शेरीघाट, कालेखोला, गगने खोला र दही खोलाको पहिरो पन्छाएपछि राजमार्ग सूचारु हुनेछ । त्यसका लागि डोजर सहित डिभिजन सडक कार्यालयको टोली स्थलगत खटिएको छ ।’ गगने खोला र दही खोलामा निकै ठुलौ पहिरो खसेकाले उक्त पहिरो पन्छाउन समय लाग्ने इन्जीनियर भण्डारीले बताए । बर्षा नरोकिएकाले पहिरो पन्छाएपनि पुन पहिरो खसेर सडक अबरुद्ध हुने समस्या रहेको उनको भनाई छ ।
कालिकोटका प्रमूख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले लामो समय राजमार्ग अबरुद्ध हुन नदिन तयारी अवस्थामा बस्न डिभिजन सडक कार्यालय जुम्लालाई निर्देशन दिईएको बताए । उनले आफुहरुको आग्रहमा डिभिजन सडक कार्यालय जुम्लाबाट एउटा डोजर कालिकोटमा राख्ने व्यवस्था मिलाईएको बताउदै राजमार्गका धेरै ठाँउमा पहिरो खेस्ने समस्याले अबरुद्ध राजमार्ग समयमै खुलाउन नसकिएको बताए । उनले भने, ‘कर्णाली राजमार्गको जुम्ला सुर्खेत सडकखण्ड अबरुद्ध हुँदा दैनिक उपभोग्य सामानहरु ढुवानीका साथै अत्यावश्यकिय सवारी साधनहरु पनि ठप्प छन् । यसलाई तत्काल खुलाउनका लागि डिभिजन सडक कार्यालयलाई ताकेता लगाईएको छ । डिभिजन सडक कार्यालयको टोली पहिरो पन्छाउने कार्यमा तिब्र रुपमा लागेको छ । अबको एक दुई दिनमै राजमार्ग खुल्छ ।’ लगातार एक हप्तासम्म राजमार्ग अबरुद्ध हुन नदिन सबै सरोकारवालाहरु बीच छलफल तथा समन्वय भईरहेको उनको भनाई छ ।

error: Content is protected !!