७ बैशाख २०८१, शुक्रबार

कर्णालीका १८ जना कोरोना संक्रमित डिस्चार्ज


सुर्खेत । कर्णालीका थप १८ जना कोरोना भाईरस (कोभिड–१९) संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । शुक्रबार प्रदेशका विभिन्न आईशोलेसन सेन्टरहरुबाट १८ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका हुन् ।

जसमा लेकवेशी आईसोलेसन सेन्टर–सुर्खेतबाट एक जना, सल्यान अस्पताल–सल्यानबाट १२ जना, वनगाड कुपिन्डे आईसोलेसन सेन्टरबाट तीन जना, रुकुम पश्चिम अस्पतालबाट दुई जना डिस्चार्ज भएका हुन् ।

यो सँगै कर्णालीमा कोरोना भाईरस संक्रमणबाट निको हुनेहरुको संख्या एक हजार सात सय १५ पुगेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

थप एक जनामा कोरोना
पछिल्लो २४ घण्टामा कर्णालीका थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएकाे छ । दैलेख अस्पतालमा गरिएको परिक्षणमा एक जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको हो । दैलेखको नारायण नगरपालिका–२ निवासी ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टी भएको हो । यो सँगै कर्णालीमा कोरोना संक्रमण हुनेहरुको संख्या एक हजार नौँ सय ३८ पुगेको छ ।

शुक्रबार कर्णालीमा एक सय ७१ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्य एक जनामा मात्र संक्रमण पुष्टी भएको हो ।

हाल कर्णाली प्रदेशका विभिन्न आईशोलेसन सेन्टरहरुमा दुई सय १७ जना कोरोना भाईरसका सक्रिय विरामी रहेका छन् भने कर्णालीमा कोरोना संक्रमण पुष्टी भएका मध्य ६ जनाको मृत्यु भईसकेको छ । हालसम्म कर्णालीमा ४० हजार सात सय १३ जनामा कोरोना संक्रमण परिक्षण भईसकेको छ ।