७ बैशाख २०८१, शुक्रबार

विद्यार्थीद्वारा परिक्षा रोक्न माग


सुर्खेत । वीरेन्द्रनगर स्थित विभिन्न विद्यालयमा अध्ययरत विद्यार्थीहरुले कोरोना महामारीको समयमा परिक्षा दिन नसक्ने भन्दै रोक्न माग गरेका छन् । शुक्रबार प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले आन्तरिक मुल्याङ्गकनबाट कक्षा ११, १२ तथा सिटिईभिटिको नतिजा निकाल्न माग गरेका हुन ।

प्रदर्शन पछि सहायक प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेल मार्फत प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझउँदै उनीहरुले यस्तो माग गरेका हुन ।
कोरोना भाइरसको महामारीको समयमा सरकारले कहिल्यै परिक्षा हुने कहिले हुदैन भन्दै आफुहरुलाई मानसिक रुपमा तनाव दिएको भन्दै उनीहरुले अब अन्तरिक मुल्याङ्गनबाट नतिजा प्रकाशन गर्न सरकारलाई माग गरेका हुन ।

वीरेन्द्रनगर स्थित सरकारी तथा नीजि विद्यालयका विद्यार्थीहरुको समुहले विशाल आचार्यको नेतृत्वमा प्रदर्शन गरेको हुन ।
महामारीको समयमा आफुहरु तनावपूर्ण अवस्थामा रहेकाे यस्ताे अवस्थामा सरकारले कोरोना नियन्त्रणमा केन्द्रीत हुनुको साटो परिक्षा गर्ने नगर्ने भनेर केटाकेटीपनको झ–झल्को दिएर थप मानसिक रुपमा तनाव थपेको संयोजक आचार्यले बताए ।

उक्त विद्यार्थीहरुको अन्दोलनलाई साथ दिँदै विद्यार्थी नेता रवि किरण हमालले सरकारले लामो लकडाउनको कारण विद्यार्थीहरुमा भएको तनाव कम गर्नुको साटो झन तनाव थप्ने काम गरिरहेको बताए । अहिलको अवस्थामा सरकारले विद्यार्थीको मागलाई पुरा गरेर उनीहरुलाई न्याय दिनुपर्ने उनको भनाई छ ।