८ बैशाख २०८१, शनिबार

मुगुमा बिरामी जाँच्दै डा. गोविन्द केसी


मुगु । डा.गोविन्द केसीले कर्णाली प्रदेशको मुगु जिल्लामा पुगेर बिरामी चेकजाँचको काम सुरु गरेका छन् । जुम्लाको खलंगा बजारबाट हिँडेरै मुगु पुगेका उनले बिहीबार देखि बिरामी जाँचको काम गरेका हुन ।

केसीले विशेष गरी हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी सेवा दिएका छन् । केसीसँग स्वास्थ्य जाँच गर्न विभिन्न स्थानबाट मानिसहरू पुगेका छन् ।

अस्पतालमा कार्यरत चिकित्सकहरूले पनि केसीसँग हाडजोर्नी उपचारसम्बन्धमा सल्लाह–सुझाव लिएका छन् । डा. केसी आउने खबर पाएपछि हड्डीसम्बन्धी भएकालाई लक्षित गरी सार्वजनिक सूचना जारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख निर्मल नगरकोटीले जानकारी दिए ।

केसीले बिहीबार ४७ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् उनी मुगु अस्पतालमै बसेर करिब तीन दिन सेवा दिने अस्पतालले जानकारी दिएको छ ।