७ बैशाख २०८१, शुक्रबार

बिओपीले गर्यो सीमा स्तम्भ पहिचान


हुम्ला । चीनसँगको सिमाना हिल्सा नाकामा स्थापना भएको सीमा सुरक्षा चौकी (बिओपी)ले हुम्ला खण्डमा पर्ने सीमा स्तम्भको पहिचान गरेको छ । सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर स्थापना भएको बिओपीले एक महिनाको अवधिमा तिब्बततर्फ मरुभूमि खण्डका अधिकांश सीमा स्तम्भ पहिचान गरेको हो ।

गएको असार ६ गते सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा हिल्सामा सीमा सुरक्षा चौकी ( बिओपी ) स्थापना भएको थियो । सुरक्षाका लागि खटिएका प्रहरीको निरन्तर प्रयासपछि सीमा स्तम्भ पहिचान भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीले बताए ।

नेपाल र चीनको सिमाना अन्तर्गत हुम्ला खण्डको २६२ दशमलव तीन किलो मिटर क्षेत्रमा कुल १५ वटा सीमा स्तम्भ रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी गिरीले पिलर नम्बर ११ मात्र नभेटिएको र अन्य सबैको पहिचान भएको जानकारी दिए । हुम्ला खण्डका १५ सीमा स्तम्भ मध्ये १० वटा मुख्य र पाँचवटा सहायक पिलर हुन् । तिब्बतसँगको पठार क्षेत्र भएका कारण सीमा सुरक्षा चौकीलाई सीमा स्तम्भ पहिचान गर्न निकै कठिन भएको थियो ।

सीमा स्तम्भको अवस्था मिश्रित रहेको सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रहरी नायव उपरीक्षक मोहन बिष्टले बताए । केही पिलर ढलेका अवस्थामा भेटिएको उनले जानकारी दिए ।

पिलर ढलेको भएपनि सिमानामा तल माथि भएको भने नपाइएको उनले बताए । हुम्ला जिल्लामा पर्ने सबै सीमा स्तम्भको अवस्थाका बारेमा कार्ययोजना निर्माणका लागि सीमा सुरक्षा चौकी हिल्साका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीको टोली लागेको छ । प्रजिअ गिरीले दुई महिना भित्र टोलीले कार्य योजना तयार गरि सक्ने र त्यसपछि सीमा स्तम्भको बारेमा के गर्ने भन्ने बारेमा निर्णय हुने बताए ।