४ बैशाख २०८१, मंगलवार

स्वास्थ्य राज्यमन्त्री रावत क्वारेन्टिनमा


सुर्खेत । मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य राज्यमन्त्री नवराज रावत क्वारेन्टिनमा गएका छन् । रावत सहित स्वास्थ्य मन्त्रालयका करीव तीन दर्जन कर्मचारी क्वारेन्टिन गएका छन् । ती मध्ये केही कर्मचारीले होम क्वारेन्टिन रोजेका छन् । होम क्वारेन्टिन सम्भव नभएका केही कर्मचारीहरुलाई गोदावरीस्थित कस्तुरी होटलमा लगेर राखिएको छ ।

स्वास्थ्य राज्यमन्त्री रावत आफ्नै क्वाटरमा रहने भएका छन् । तर उनका परिवारलाई गोदावरी पठाइएको छ । संक्रमितको प्रत्यक्ष सम्पर्क (प्राइमरी कन्ट्याक्ट) मा रहेका मन्त्रालय समन्वय महाशाशाखा, लेखा शाखा, नीति योजना महाशाखा लगायतका विभिन्न शाखामा कार्यरत करीव तीन दर्जन मध्ये आधा जसोले होम क्वारेन्टिन रोजेको बताइएको छ ।

क्वारेन्टिनमा रहेका उनीहरुलाई करीब ६ दिन पुगेपछि स्वाब लिएर पीसीआर जाँच गर्ने योजना मन्त्रालयको छ । मन्त्रालयका इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) का संयोजक एवं सहसचिव डा गुणराज लोहनीले संक्रमित कर्मचारीसंग प्राइमरी कन्ट्याक्टमा रहेका सबै कर्मचारीलाई क्वारेन्टिनमा पठाइएको बताए ।