१६ चैत्र २०८०, शुक्रबार

गण्डकीकाे मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त


पाेखरा । अन्ततः गण्डकी प्रदेशले नयाँ सरकार पाएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

केही बेरअघि प्रदेशप्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को ५ अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।प्रदेश प्रमुख कार्यालयका सचिव हरिप्रसाद बास्तोलाले नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको जानकारी दिए ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

यस्तै, मुख्यमन्त्रीका लागि जनमोर्चा र जसपाका सांसदको समर्थनसहित पृथ्वीसुब्बा गुरुङले पनि दावी गरेका थिए । त्यसपछि विपक्षी गठबन्धनले केही बेर प्रदेश प्रमुखको कार्यालयमा धर्नासमेत दिएको थियो ।

कांग्रेसले केन्द्रको जस्तै प्रदेश प्रमुखले व्यवहार देखाए राम्रो नहुने चेतावनीसमेत दिएको थियो । अब पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।