७ बैशाख २०८१, शुक्रबार

कर्णालीको बजेट ३६ अर्ब ५४ करोड


सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८÷०७९ को लागी ३६ अर्ब ५४ करोडको बजेट कर्णाली प्रदेश सभामा पेस गरेको छ । कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले मंगलबार कर्णाली प्रदेश सभामा ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजारको बजेट प्रस्तुत गरेका हुन् ।
कर्णाली सरकारले चालु खर्चतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार र पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार रुपैयाँ विनियोजन गरेको छ । संघीय सरकारबाट प्राप्त अनुदान, राजश्व बाँडफाँडबाट प्राप्त रकम, बिशेष अनुदान तथा समपुरक बजेट र आन्तरिक राजस्व समेत गरी उक्त बजेट तयार पारिएको मन्त्री शर्माले बताए ।
आगामी आर्थिक वर्षको लागि आन्तरिक राजस्वबाट ६० करोड, चालु आर्थिक वर्षको खर्च नभई बाँकी रहन जाने रकम १२ अर्ब ९२ करोड १६ लाख ८१ हजार, संघीय सरकारबाट राजश्व बाँडफाँड वापत प्राप्त हुन आएको रकम ७ अर्ब ४४ करोड ७७ लाख र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब १४ करोड २१ लाख र सशर्त अनुदानबाट ३ अर्ब ९८ करोड ७७ लाख रुपैयाँ प्रदेशको बजेट छ ।
कर्णाली सरकारले नेपाल सरकारबाट प्राप्त हुने समपुरक अनुदान ८१ करोड ३५ लाख र बिशेष अनुदानवाफत ६१ करोड ३० लाख प्राप्त गर्ने अनुमान गरी बजेट बनाएको जनाइएको छ । त्यस्तै बैदेशिक सहायताबाट प्राप्त हुने कार्यक्रम २ करोड ९ लाख ५५ हजार स्रोत परिचालन गर्ने गरी सरकारले बजेट बनाएको मन्त्री शर्माले बताए । कर्णाली सरकारले कोभिड १९ को रोकथाम नियमन्त्रण र उपचारलाई प्राथमिकतामा राखेर बजेट बनाएको जनाएको छ ।

बजेट कोभिड–१९ केन्द्रित
सरकारले आगामी बर्षका लागि ल्याएको चालुतर्फको बजेट अन्तर्गत कोभिडको नियन्त्रण र रोकथामका लागि गरिने परिक्षण र प्रतिकार्यका लागि ५३ करोड ९८ लाख रकम विनियोजन गरिएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा एमआरआइ उपकरण खरिद र कर्णालीका विभिन्न अस्पतालहरुमा मेडिकल औजार तथा अन्य उपकरण खरिदका लागि १३ करोड ९६ लाख र प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालनको लागि ३ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ ।
कर्णालीमा कोभिड–१९ रोगबाट मृत्यु हुने व्यक्तिका परिवारलाई १ लाख राहत दिने, प्रदेश अस्पतालमा ५ सय शैया र जिल्ला अस्पताल डोल्पा, मुगु र हुम्लामा ५० शैया , कालिकोट, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख जिल्ला अस्पतालमा १ सय शैया सञ्चालनका लागि आवश्यक पूर्वाधारको बिकास, स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको छ । जिल्ला अस्पतालमा कम्तिमा एक भेन्टिलेटरसहितको पाँच आइसियु उपचार कक्षको व्यवस्था गर्न बजेट विनियोजन गरिएको छ ।

किसानलाई सुनको हलो
भौगोलिक विकट कर्णालीका नागरिकहरूका समस्या समाधान गर्नेभन्दा महोत्वकांक्षी र यहीँ वर्षका कतिपय कार्यक्रम बजेटको प्राथमिकतामा छन् । बजेटमा प्रदेश प्रमुख दन्त उपचार सेवा तथा देश दर्शन कार्यक्रमदेखि सुनको हलोबाट सम्मानित गर्नेगरी योजनाहरू समावेश गरेको छ । पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना, बैंक खाता छोरीकोः सुरक्षा जीवन भरीको, मुख्यमन्त्री जिविकोपार्जन कार्यक्रम मुख्यमन्त्री दलित, आयआर्जन कार्यक्रम छाउपडीमुक्त अभियान सञ्चालन, प्रदेश कला गौरवबाट विभूषित र प्रत्येक घर स्वरोजगार कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ ।
यस्तै, कृषि प्राविधिक स्वरोजगार प्रवर्द्धन परियोजना, कृषि उद्योगको अनुकुलतामा उत्पादन, उत्पादनको आधारमा उद्योग, एक स्थानीय तह एक कृषि उपज उत्पादन, मुख्यमन्त्री कृषक सम्मान कार्यक्रम ः प्रदेशभरमा सर्वोत्कृष्ट एकजना कृषकलाई सुनको हलो अंकित तक्मा र उत्कृष्ट २०० जना कृषकलाई पुरष्कृतलगायतका कार्यक्रमममा बजेट विनियोजन गरिएको छ । टिस्युकल्चर ल्याब स्थापना, एक जिल्ला एक उद्योग ग्राम स्थापना र कर्णाली जडिवुटी प्रशोधन उद्योग स्थापना गर्ने बजेटमा समेटिएको छ ।

(बजेटको पूर्णपाठ)

Budget-Announcement-2078