८ बैशाख २०८१, शनिबार

आजै विश्वासको मत लिंदै प्रधानमन्त्री देउवा,यस्तो छ संसद्को रोचक अंकगणित


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री भएको एक हप्ता नपुग्दै संसद्मा विश्वासको मत लिने भएका छन् । संसद्को आठौं अधिवेशन सुरु दिन आइतबार नै देउवाले विश्वासको मत लिने तयारी गरेका हुन् ।

विश्वासको मतको लागि संसद् सचिवालयमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव दर्ता गराइसकेका छन् ।
संसदको अधिवेशन आजै दिउसो चार बजे सुरु हुँदैछ ।

प्रधानमन्त्री भएपछि देउवाले जम्मा पाँच सदस्यीय मन्त्रिमण्डल मात्रै विस्तार गरेका छन् । तर, थप मन्त्रिमण्डल विस्तार नगरीकनै उनले आजै विश्वासको मत लिन लागेका हुन् ।

२७५ सदस्यीय  विश्वासको मत लिनका लागि १३६ सांसदको भोट आवश्यक पर्छ । संसदमा चार सांसद निलम्बित छन् । चार सांसदको पद खाली छ । यस्तोमा निलम्बितलाई कटाएर १७१ सदस्यको बहुमत अर्थात १३६ मत प्राप्त गर्न सके देउवा प्रधानमन्त्रीमा कायम हुनेछन् । नभए संसद विघटन भएर ६ महिनाभित्र देशमा चुनाव गर्नुपर्ने छ ।

प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल एमालेको १२१ सिट छ । यस्तोमा देउवाले बहुमत पुर्याउन पाँचवटासम्म दलको भोट तान्नुपर्नेछ ।

कांग्रेसको ६३ मध्ये ६१ सांसद छन् । माओवादीका ५३ मध्ये चार जना एमालेतिर गएपछि उनीहरुको ठाउँ खाली छ । एक जना सभामुख भएकोले माओवादीले ४८ मत दिन पाउनेछ । जसपाका ३४ मध्ये दुई जना निलम्बित छन् । जसमा उपेन्द्र यादवको पक्षमा यस अघि १२ जना रहेकोमा थप पाँच जना थपिंदा १७ जना पुगेका छन् । स्वतन्त्रका छक्कबहादुर लामा र राष्ट्रिय जनमोर्चा दुर्गा पौडेलले मत प्राप्त गर्दा देउवाको १२८ मत पुग्छ । यस्तोमा बहुमत पुर्याउन अझै ८ मत देउवालाई आवश्यक पर्छ ।

यस अघि प्रधानमन्त्री बनाउनका लागि राष्ट्रपति कार्यालयदेखि सवोच्च अदालतसम्मै मत दिएका एमालेका माधव नेपाल पक्षीय २३ सांसदले भोट दिए देउवाले १५१ जनाको बहुमत प्राप्त गर्न सक्नेछन् । तर, नेपाल पक्षका संख्या घटे पनि ८ जनाले भोट क्रम गरे देउवाले विश्वासको मतको लागि आवश्यक १३६ को संख्या पुर्याउन सक्नेछन् ।

पछिल्लोपटक संसद् पुनस्थापना गर्दा सर्वोच्च अदालतले संविधानको धारा ७६(५) अनुसारको सरकारका लागि सांसदलाई ह्वीप नलाग्ने फैसला गरेको छ । यस्तो फैसलापछि जुनसुकै दलका सांसदले पनि ढुक्क भएर भोट क्रस गर्न पाउनेछन् ।

संसद् बचाउनकै लागि विपक्षी प्रधानमन्त्री शेरबहाुदर देउवालाई यस अघि मत दिएका नेपाल पक्षले विश्वासको मत दिने बताउँदै आएको छ । तर, यस अघि जस्तै सबै २३ जनाले नै विश्वासको मत दिने भन्नेबारे अहिलेसम्म अन्तिम टुंगो भने लागिसकेको छैन ।

माधव नेपाल पक्षले भोट दिंंदै नदिए जसपाको महन्ठ ठाकुर पक्षले थप आठ भोट दिए पनि देउवाको सरकार जोगिनेछ । तर, यस अघिदेखि नै केपी ओलीको कित्तामा उभिएको महन्थ पक्षले देउवालाई भोट दिने सम्भावना कम छ ।

देउवाले विश्वासको मतको लागि आवश्यक १३६ सांसदको भोट नपाए दुईपटकसम्म तत्कालीन प्रधानमन्त्री केपी ओलीले विघटन गरेर सर्वोच्च अदालतले पुनस्थापना गरेको प्रतिनिधिसभा विघटनमा पुग्नेछ । त्यसपछि भने ६ महिनाभित्र देशमा चुनाव गर्नेपर्नेछ ।