७ बैशाख २०८१, शुक्रबार

१७ वटा विद्यालयका २ सय ६६ जना बालबालिका अझै विद्यालय बाहिर


कालीकोटः जिल्लाको खाडाचक्र नगरपालिकाका १७ वटा विद्यालयका २ सय ६६ जना बालबालिका अझै विद्यालय बाहिर रहेको पाइएको छ ।
विद्यालय जाने उमेर समुहका बालबालिका मध्ये विभिन्न कारणले गर्दा २ सय ६६ जना बालबालिका अझै पनि विद्यालय बाहिर रहेको पाइएको हो । नगरपालिका भित्रका १७ वटा विद्यालयका प्रधानाध्यापकहरुका लागि आयोजना गरेको बालमैत्री विद्यालय ढाँचा र प्राथमिकताका न्यूनतम अवस्थाहरुमा प्रधानाध्यापकहरुका लागि आयोजना गरिएको ३ दिने तालिममा सो कुरा बाहिर आएको छ ।
समाज जागर केन्द्र (स्याक) नेपालको आयोजना यूनिसेफको सहयोगमा खाडाचक्रका मावि र आवि गरि १७ वटा विद्यालयका प्रधानाध्यापकलाई किशोर किशोरीहरुका लागि शिक्षा र जीवननोपयोगी सिप अवसर परियोजनाले तालिमको आयोजना गरेको छ ।
विद्यालय बाहिर रहेका बालबालिकालाई कसरी विद्यालयमा नियमित बनाउन सकिन्छ, विद्यालय नजाने किशोरकिशोरीलाई जीवननोपयोगी सिप कसरी दिने, विद्यालयलाई बालमैत्री कसरी बनाउने लगायतका कुरा तालिममा समावेश गरिएको परियोजना संयोजक हरि तिवारीले बताए ।
उनका अनुसार, यूनिसेफको सहयोगमा स्याक नेपालले खाडाचक्रको शैक्षिक सुधारमा काम गरिरहेको छ । तालिम आजदेखि ३ दिनसम्म चल्ने छ । तालिमको सहजिकरण किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत गोविन्द बहादुर कठायतले गर्ने छन् ।