लगातारको बर्षाले कर्णाली राजमार्ग अवरुद्ध


सुर्खेत । कर्णालीमा सडक सम्पर्क विच्छेद भएको छ। वर्षातका कारण प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतबाट विभिन्न जिल्ला जोड्ने मुख्य सडकहरू अबरुद्ध हुन पुगेका छन्। सुर्खेतबाट दैलेख हुँदै साविकको कर्णाली जोड्ने कर्णाली राजमार्ग पूर्णरूपमा अबरोध भएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक सुवराज बमले राजमार्गको कालीकोट खण्ड पूर्णरूपमा बन्द रहेको बताए। कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डमा मात्रै १२ भन्दा बढी स्थानमा पहिरो गएको प्रहरी निरीक्षक बमले बताए।

‘कर्णाली राजमार्गस्थित सेरी घाट पुलनजिकै छेडाघाटस्थित राजमार्गलाई तिला नदीको बहावले १५ मिटर सडक बगाएको छ। त्यहाँ चट्टानका कारण तत्कालै नयाँ सडक निर्माण गर्न सकिने अवस्था छैन। अन्य ठाउँमा पनि कतै पहिरो खसेको छ भने कतिपय ठाउँमा सडक भासिएको छ। हामीले केही स्थानमा पहिरो हटाउने प्रयास गरेका थियौँ। तर, वर्षात भइरहेकाले सकेका छैनौं,’ उनले भने। कर्णाली करिडोरमा समेत यातायात आवागमन ठप्प रहेको उनले बताए।

दैलेख खण्डको दरबारेभीर, सांगेतडा, बोटखोलालगायत स्थानमा पहिरो खसेका कारण राजमार्ग पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। निर्माणाधीन अवस्थाको मध्यपहाडी राजमार्गको दैलेख खण्ड पनि अबरुद्ध छ। ठाउँ–ठाउँमा पहिरो गएका कारण यातायातका साधन सञ्चालनमा आउने सकेको छैन। रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–१ राङ्चे खोलास्थित मध्यपहाडी राजमार्गमा खसेको पहिरोका कारण सडक पूर्णरूपमा बन्द भएको छ।

दैलेख–सुर्खेत सडकखण्ड पनि ध्वस्त छ। यात्रु अलपत्र परिरहेका छन्। लगातार बर्षातका कारण सडक अबरुद्ध हुँदा यात्रुले सास्ती खेप्नुपरेको नारायण नगरपालिकाका विजय शर्माले बताए। दैलेख–सुर्खेत सडकखण्डमा ५० भन्दा बढी ठाउँमा पहिरो र ढुंगा लडिरहेको र १५ भन्दा बढी ठाउँमा सडक भासिएको दैलेखका चेतन गिरीले बताए। ‘निकै चुनौतीपूर्ण यात्रा छ। आइतबार रातिदेखि यात्रु बाटोमा अलपत्र छन्। बाटोको गुणस्तर कमजोर हुँदा जति पटक बाटो मर्मत गरे पनि बाटोको सुधार हुने देखिँदैन्, झन कर्णालीको अन्य जिल्लाको हालत के होला ?’, उनले भने।

दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वरप्रसाद साहले दैलेख सुर्खेत सडकखण्ड बन्द रहेको र सोमबार बिहानैदेखि खुलाउने प्रयास भइरहेको बताए। ‘दैलेख–सुर्खेत सडक खण्डको चुप्रा क्षेत्र, मटेला क्षेत्र, माथिल्लो डुंगेश्वर, जिरो पोइन्ट, घोडाबास तथा डबल गैरा क्षेत्रमा कतै पहिरो गएको छ, कतै सडक भासिएको छ, पाँच देखि १० मिटरसम्म सडक भासिएको छ,’ डीएसपी साहले भने ‘हामी सडक खुलाउने प्रयास गरिरहेका छौं।’

दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सडक खुलाउने काममा सुरक्षाकर्मीसहित स्थानीय जनप्रतिनिधि खटिएको बताए। उनका अनुसार कर्णाली राजमार्ग, मध्यपहाडी राजमार्ग, दैलेख सुर्खेत सडकखण्ड लगायतका सहायक सडकअन्तर्गत ठाउँ–ठाउँ भासिएका छन्। पहिरो गएका कारण यातायातका साधानहरू पूर्णरूपमा सञ्चालनमा आउन नसकेको उनले बताए।

सुर्खेतको वीरेन्द्रनगरदेखि कोहलपुर जोड्ने रत्नराजमार्गमा पनि विभिन्न स्थानमा पहिरो खसेका कारण निर्वाध रूपमा सवारी आवागमन सञ्चालन हुन सकेको छैन। कर्णालीमा मुख्य सडकसँगै स्थानीय तह जोड्ने सहायक सडकहरू पनि अबरुद्ध छन्।