७ बैशाख २०८१, शुक्रबार

कर्णालीमा भावी मुख्यमन्त्रीका आकांक्षी


सुर्खेत । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी माहोल तातेसँगै कर्णालीको भावी मुख्यमन्त्री को बन्ला भन्ने चर्चा पनि सुरु भएको छ। कतिपय उम्मेदवारले आफूलाई भावी मुख्यमन्त्रीको रूपमासमेत उभ्याउन थालेका छन्। कर्णालीमा प्रत्यक्षतर्फ २४ सिट र समानुपातिकतर्फ १६ गरी ४० सिटका लागि मतदान हुँदैछ।

कर्णालीमा सत्तारुढ गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। कतिपय उम्मेदवारहरू आगामी मुख्यमन्त्री बन्ने आकांक्षासहित मैदानमा होमिएका छन्। प्रदेशको मुख्यमन्त्री बन्ने आकांक्षासहित कतिपय नेताहरू पुनः प्रदेशमै उम्मेदवार बनेका छन् भने कतिपयले प्रतिनिधिसभाको टिकट त्यागेर प्रदेशमा झरेका छन्। भावी मुख्यमन्त्री बन्ने दौडमा मुख्यगरी कांग्रेस, एमाले र माओवादीका उम्मेदवारहरू छन्। चुनावपछि पनि पुनः मुख्यमन्त्रीमा दोहोरिने आकांक्षासहित वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाको प्रदेशसभा (ख) बाट उम्मेदवार बनेका छन्।

तत्कालिन नेकपाको दुईतिहाइ बहुमत हुँदासमेत नेकपा विभाजनका कारण मुख्यमन्त्री बन्ने अवसर पाएका कांग्रेस नेता शाही यसपटक सत्ता गठबन्धनको बलमा निर्वाचन लड्दैछन्। उनको सचिवालय स्रोत भन्छ, ‘उहाँ (शाही) नै मंसिरपछि पुनः मुख्यमन्त्री बन्नुहुन्छ, गठबन्धनको बहुमत आउँदा उहाँ नै हो मुख्यमन्त्री बन्ने। अहिले मुख्यमन्त्री हुँदैगर्दा बाँकी रहेका काम पूरा गर्न र चुनावपछि पनि सरकारको नेतृत्व गरेर प्रदेशमा स्थायीत्वको सन्देश दिन पनि उहाँ प्रदेशमा उम्मेदवार बन्नुभएको हो।’ कांग्रेसको केन्द्रीय सदस्य रहेका शाही पुनः मुख्यमन्त्रीमा दोहोरिने आकांक्षासहित प्रदेशमा उम्मेदवार बनिरहँदा उनको पार्टी कांग्रेसभित्र मुख्यमन्त्रीका आकांक्षी अरु नभएका होइनन्।

कांग्रेस स्रोतका अनुसार जुम्लाको प्रदेशसभा (क) बाट उम्मेदवार बनेका ललितजंग शाही पनि मुख्यमन्त्रीका आकांक्षी छन्। उनी हाल कांग्रेसको कर्णाली प्रदेश समितिका सभापति हुन्। पार्टीको प्रदेश सभापति भएकाले पनि स्वभाविक रुपमा प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाउँदा आफू नै मुख्यमन्त्री बन्ने महत्वाकांक्षासहित उनी प्रदेशसभाको उम्मेदवार बनेका छन्। उसो त कांग्रेसभित्र जाजरकोटको प्रदेशसभा (क) बाट उम्मेदवार बनेका राजीवविक्रम शाहलाई पनि भावी मुख्यमन्त्रीको रुपमा चर्चा गर्न थालिएको छ।

पार्टीको केन्द्रीय सदस्य रहेका शाह यसअघि जाजरकोटबाट संविधानसभामा निर्वाचित भएका थिए। जिल्लामा समाजसेवीको रुपमा परिचित उनी मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशसभामा उम्मेदवार बनेको उनी निकट स्रोतको दाबी छ।

कर्णालीलाई आफ्नो आधार क्षेत्र दाबी गर्दै आएको माओवादी केन्द्रमा पनि भावी मुख्यमन्त्रीको रुपमा मुख्यगरी दुई जनालाई हेर्न थालिएको छ। रुकुमपश्चिमको प्रदेशसभा (ख) बाट उम्मेदवार बनेका राजकुमार शर्मा र सुर्खेत क्षेत्र नं २ (ख) बाट उम्मेदवार बनेका विन्दमान विष्टलाई माओवादीभित्र भावी मुख्यमन्त्रीको रुपमा चर्चा गर्न थालिएको हो।

शर्मा माओवादीको कर्णाली प्रदेश कमिटीका पूर्वअध्यक्ष हुन्। माओवादी नेता जनार्दन शर्मा निकट भएकाले पनि कर्णालीमा सरकारको नेतृत्व पाउँदा शर्मा नै भावी मुख्यमन्त्री बन्ने उनी निकट स्रोतको दाबी छ। तर, यसअघि प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका विष्ट मुख्यमन्त्री बन्ने आकांक्षासहित पुनः प्रदेशमै उम्मेदवार बनेका छन्। उनी माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेत निकट मानिन्छन्।

नेता विष्टले पनि आफू भावी मुख्यमन्त्रीको दौडमा रहेको संकेत गरेका छन्। बुधबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा विष्टले भने, ‘यसपटक सुर्खेतलाई ठूलो अवसर छ, सुर्खेतले नै चुनावपछि प्रदेशको नेतृत्व गर्नेछ। यो अवसर हामीले गुमाउनु हुँदैन।’ उनको यो भनाइले पनि विष्ट भावी मुख्यमन्त्री बन्ने दौडमा रहेको पुष्टि हुन्छ। कर्णालीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल छ।

यस्तै नेकपा एमालेमा मुख्यगरी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज यामलाल कँडेल र प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहलाई भावी मुख्यमन्त्रीको रुपमा चर्चा गर्न थालिएको छ। कँडेल यसअघि २०७४ मा मुख्यमन्त्रीको आकांक्षासहित प्रदेशमा चुनाव लडेका थिए। तर, त्यसबेला एमाले र माओवादीबीचको गठबन्धनमा भागबण्डा हुँदा कर्णालीमा सरकारको नेतृत्व माओवादीको भागमा परेपछि कँडेल मुख्यमन्त्री बन्न पाएनन्। नेकपा विभाजन र एमालेकै सांसदहरूले फ्लोरक्रस गरेका कारण बहुमत हुँदाहुँदै पनि कँडेल मुख्यमन्त्री बन्न सकेनन्।

तर यसपाली प्रदेशमा बहुमत हाँसिल गरेर मुख्यमन्त्री बन्ने आकांक्षा पूरा गर्ने दाउमा कँडेल रहेको एमाले स्रोतको दाबी छ। भावी मुख्यमन्त्री बन्ने आकांक्षासहित एमाले नेता कँडेल यसपटक पनि सुर्खेत क्षेत्र नं २ (क) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका छन्। यद्यपी एमालेभित्रै पार्टीका प्रदेश कमिटी अध्यक्ष शाह पनि भावी मुख्यमन्त्री बन्न सक्ने बहस चलिरहेको छ। अन्नपूर्ण पोष्टबाट