९ असार २०८१, शनिबार

कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक खण्डको ९३ ठाउँमा पहिरो


कालीकोट । कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकखण्डको ९३ ठाउँमा पहिरो गएको छ । लगातार झन्डै एक सातासम्म भएको वर्षाका कारण कालीकोटको खण्डमा मात्र ७३ ठाउँमा पहिरो गएको छ । दैलेख र जुम्ला खण्डमा पहिरोले सडक अवरुद्ध भएको छ ।

जहाज पनि नचलेकाले जुम्ला, मुगु, हुम्ला र बाजुराको पूर्वी भेग कोल्टी क्षेत्रका बासिन्दा पनि पैदल हिँडेर आउजाउ गर्न बाध्य छन् । पहिरोले अवरुद्ध कर्णाली राजमार्गको सुर्खेत र दैलेखखण्ड एकतर्फ साना गाडी चल्ने अवस्थामा खुले पनि कालीकोट खण्ड सञ्चालनमा आउन कम्तीमा एक साता लाग्ने कालीकोटका प्रजिअ रामहरि शर्माले बताए । ‘जतातै पहिरै पहिरो छ,’ उनले भने, ‘झन् कालीकोट खण्डमा त बिजोक भयो, पहिरोले कतै पनि जान नसकिने अवस्था भयो ।’

सुर्खेतदेखि जुम्लासम्म २ सय ३२ किमि सडकमा ठाउँठाउँमा पहिरो गएकाले गाडीभन्दा पनि पैदल हिँड्नसमेत कठिन भएको स्थानीयको गुनासो छ । शुभकालिका–७ मुग्राहाबाट मान्म पुग्न ५ घंण्टा लागेको पूर्वपालिका उपाध्यक्ष पम्फा शाहीले गुनासो पोखिन् । उनका अनुसार राजमार्गको कतिपय ठाउँमा त पैदल हिँड्ने बाटो पनि छैन । ‘पूरै सडक पहिरोले क्षतविक्षत बनाएको छ,’ उनले भनिन्, ‘मोल्फाबाट मान्मसम्म १४ किमि मात्र दूरी हो, तर ३ घण्टामा पनि बाटो पूरा गर्न मुस्किल छ ।’ उनले मोल्फायता मात्र २१ ठाउँमा ठूल्ठूलो पहिरो गएको बताइन् ।

कर्णाली राजमार्गको हुल्म, सेरिघाट, सुनार खोला, ताडी, हेर्ने भीर, गल्ली, छेका, मौलाकाटिया, मोल्फा, सिम्लागाड, पिली, सेरावाडा, टाकुल्ला, बाली, भैसेगौडा, टिमुरेभीर, गाल्जे, खल्लागाड, धनाडा, राचुली, भिग्मलगायतका ठाउँमा पहिरो खसेको छ । ताडीदेखि गल्लीसम्म मात्र ११ ठाउँमा पहिरो गएको प्रहरीले जनाएको छ । सोमबारदेखि मान्मदेखि ३ किमि दूरीको गल्लीसम्म एक्स्काभेटर लगाएर पहिरो हटाउन थालिएको सडक डिभिजन कार्यालयका सुपरभाइजर बुद्धिप्रसाद बरालले बताए । उनका अनुसार अविरल वर्षाले कतिपय ठाउँमा त राजमार्ग थियो भन्ने अनुमान नै गर्न नसकिने अवस्था छ ।

कालीकोट र दैलेखको सिमानामा नजिकै पर्ने गगनेखोलामा ठूलो पहिरो खसेको छ । सेरिघाटको पक्की पुल नजिकै तिला नदीले हानेर सडक पूरै बगेको छ । पहिरोले राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रुहरू अलपत्र परेका छन् । पहिरोले २ दिनदेखि बाटोमै अलपत्र परेको मुगुबाट आएका हिरा बोहराले गुनासो पोखे । ‘नेपालगन्ज जान हिँडेको ३ दिन दिन भइसक्यो,’ उनले भने, ‘सडक नखुल्दा बाटोमै अलपत्र छौं ।’ पहिरोले एक सय बढी यात्रुवाहक बस, मालवाहक ट्रक, मिनी ट्रक, ट्र्याक्टर, यात्रुवाहक जिप ठाउँठाउँमा अलपत्र परेको उनले बताए ।

यसैबीच, लगातारको वर्षाले कर्णाली करिडोर पनि पूरै अवरुद्ध छ । कर्णाली राजमार्गबाट छुटिएर बाजुरा हुँदै हुम्लाको सिमाना सल्लीसल्लासम्म ट्र्याक ओपन भएको करिडोर अहिले पूर्ण रूपमा बन्द छ । पलाता गाउँपालिकाका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बमले करिडोरमा अहिले पैदल हिँड्ने बाटोसमेत नभएको बताए । उनका अनुसार कालीकोटका ५ वटा स्थानीय तहसहित बाजुराको कोल्टी क्षेत्र, मुगुको पश्चिम भेग र हुम्लाको पश्चिम भेग जोड्ने कर्णाली करिडोरमा गाडी नचल्दा यात्रुहरू पिठ्यूँमा भारी बोकेर पैदल हिँड्न बाध्य छन् ।