कर्णालीमा ७७६ घर भत्किए, ७ हजार विस्थापित
सुर्खेत । कर्णाली प्रदेशमा अविरल वर्षाका कारण ७ सय ७६ घर भत्किएका छन् । ७ हजार १ सय ६९ विस्थापित भएका छन् । बिहीबार बसेको प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा कालीकोटको रांचुलीमा ३६ जनाको मृत्यु र २० जना अझै बेपत्ता भएको तथ्यांक प्रस्तुत गरिएको छ । बैठकले कर्णालीमा अवरुद्ध सडक सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकता दिने निर्णय गरेको छ ।
बैठकले बाढीपहिरोले मानवीय तथा धनजनको क्षति भएका स्थानमा हेलिकप्टरमार्फत उद्धार कार्य भइसकेकोले खर्चको शोधभर्ना प्रदेश सरकारले व्यहोर्ने निर्णयसमेत गरेको हो । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको अध्यक्षता र मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा बसेको बैठकले विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा प्रमुखहरुलाई तत्काल राहत तथा पुनर्स्थापनासँगै कर्णाली राजमार्ग सुचारु गर्न निर्देशन दिएको छ । जुम्लामा मात्रै हिमा र तिला नदी किनारका ४ सय ४० घरधुरी अझै उच्च जोखिममा रहेको तथ्यांक छ । अविरल वर्षाले पाक्न लागेको अन्नबालीमा पनि ठूलो क्षति पुर्याएको छ ।
असोज १९ देखि २३ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढीपहिराले कर्णाली राजमार्गको आवागमन ठप्प भएको छ । पहिरो र बाढीले क्षतविक्षत राजमार्ग सञ्चालन गर्न दुई साता लाग्ने मन्त्री शाहीले बताए । उनका अनुसार सडक बन्द हुँदा बाढीपहिरोमा परेका मानिसको उद्धार हुन सकेको छैन । आफन्त गुमाएका तथा विस्थापित परिवारले पर्याप्त राहत पाउन सकेका छैनन् । कालीकोटमा मात्रै २९ स्थानमा पहिरो गएको छ । उनका अनुसार कर्णाली राजमार्गको कालीकोट खण्डमा ८ स्थानमा पहिरो खोलिएको छ । २१ स्थानमा ठूला चट्टान र सडक नै बग्दा नेपाली सेनासँगको सहकार्यमा वैकल्पिक मार्ग निर्माण गर्ने तयारीमा गरिएको छ ।
कर्णालीपाटी । २८ आश्विन २०७९, शुक्रबार १०:४३