विद्‍युत नहुँदा मुगु अस्पतालको सेवा प्रभावित


मुगु । जिल्ला अस्पतालमा विद्युत् नहुँदा सम्पूर्ण सेवा प्रभावित भएका छन् । गत साताको भीषण बाढी पहिरोले गमगाढ साना जलविद्युत् आयोजना अवरुद्ध बनाएपछि विद्युत्‌को समस्याले जिल्ला अस्पतालमा ल्याब, एक्सरे, अक्सिजन प्लान्ट सञ्चालन गर्न गाह्रो भएपछि बिरामी औषधि उपचार गर्न कठिनाई भएको छ ।

विद्युत्‌को समस्याले अस्पतालमा सेवा प्रवाह गर्न कठिनाई भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख उमेश गौतमले बताए । अक्सिजन प्लान्ट बन्द हुँदा बिरामीलाई गाह्रो भएको उनको भनाई छ ।

दुई वर्षअघि अस्पतालमा कोरियाली सरकारले जडान गरेको ६३ किलोवाटको शौर्य उर्जा प्रविधि पनि बिग्रिएको र जेनेरेटर सञ्चालन गर्न गमगढीमा पेट्रोल पनि पाउन मुस्किल हुन थालेपछि चिकित्सकलाई बिरामीको उपचार गर्न गाह्रो भएको छ ।

विद्युत् नहुँदा अस्पतालमा भर्ना भएका बिरामीदेखि स्वास्थ्यकर्मीलाई समेत राति उज्यालो गर्न पनि मुस्किल भएको छ । दुई सातादेखि गमगढीमा विद्युत् नहुँदा सरकारी कामकाजदेखि निजी सेवा समेत प्रभावित भएका छन् । भीषण पहिरोले तहसनहस पारेको गमगाढ विद्युत् सेवा सुचारु गर्न धेरै समय लाग्ने गमगाढ साना जलविद्युत् आयोजनाले जनाएको छ ।