बाढी पहिरो प्रभावितलाई राहत


कालीकोटः जिल्लाको रास्कोट नगरपालिका र सान्नित्रिवेणी गाउँपालिकाका बाढी पहिरो प्रभावित नागरिकलाई राहत वितरण गरिएको छ ।
गत असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण घरबार विहिनी बनेका दुई वटा स्थानीय तहका २ सय घरधुरीलाई राहत वितरण गरिएको हो । अविरल वर्षाका कारण पूर्ण रुपमा घरबार विहिनी भएकालाई खाद्यन्न र आंशिक क्षति भएका घरपरिवारलाई सरसफाई किट र महिनावारी स्वच्छता किट सहयोग गरिएको छ ।
बाढी तथा पहिरो प्रतिकार्य परियोजना मार्फत राहत वितरण गरिएको छ । बाढी तथा पहिरो प्रभावित समुदायका लागि प्लान इन्टरनेशनल नेपाल र पेस नेपाल जुम्लाको साझेदारी रास्कोट नगरपालिका र सान्निवित्रेणी गाउँपालिकाको सहकार्यमा एक घर बराबर १४ हजार पाँच सयको खाद्यन्न सामाग्री वितरण गरिएको हो । पेस नेपाल जुम्लाले प्लान इन्टरनेशनलको सहयोगमा रास्कोटका ३५ घरधुरीलाई खाद्यन्न र ५५ घरधुरीलाई सरसफाई किट र महिनावारी स्वच्छता किट वितरण गरिएको बाढी पहिरो प्रतिकार्य परियोजनाका परियोजना अधिकृत शंकर प्रसाद उपाध्यायले बताए ।
उनका अनुसार सान्नित्रिवेणी गाउँपालिकाका ४० घर परिवारलाई खाद्यन्न र ७० घरधुरीलाई सरसफाई स्वच्छता सामाग्री वितरण गरिएको छ । १४ हजार ५ सय बराबरको राहत पाएपछि रास्कोट नगरपालिका—३ का रतिमाने सार्कीले खुसी व्यक्त गरे । उनले भने, “वर्षाका कारण घरबार विहिनी भएका थिर्यौ, बस्ने बास र खाने गास जोहो गर्न समस्या भइरहेका बेला पेसले दिएको राहतले खुसी लाग्यो, गास त पाइयो अव बासको आवश्यकता पर्यो अहिले पनि पालमुनी रात विताउनु परिरहेको छ ।”
उनी मात्र होईन गैरसरकारी संस्थाले वितरण गरेको राहत बुझ्दै रास्कोट नगरपालिका–८ का सर्पानन्द बरालले अन्य संस्थाहरुबाट पनि राहतको अपेक्षा राखेको बताए । त्यस्तै सान्निवित्रेणी गाउँपलिकाकी नन्दादेवि देवकोटाले आफ्नो घर पूर्ण रुपमा भत्केको बताइन् । उनले “आफ्नो घर भत्किदा ५ लाख बराबरको क्षति भयो, अहिले अरुको साहारामा अर्काको घरमा बसेकी छु ।”

रास्कोटमा राहत वितरण गर्दै नगरपालिकाका कार्यवाहक नगरप्रमुख धनबहादुर धामीले रास्कोट नगरपालिकाका नागरिकको साथमा रहेको बताए । उनले नगरपालिकाको सहकार्यमा विभिन्न साझेदारी संस्थाको सहयोगमा नगरपालिका भित्र रहेका बाढी प्रभाववित नागरिकलाई राहत वितरण गर्दै आइरहेको जनाए । पेस नेपालले पुन पनि नगरपालिकाकालाई महत्वपूर्ण सहयोग गर्ने अपेक्षा रहेको धामीको भनाई छ ।
पेस नेपालका बाढी तथा पहिरो प्रतिकार्य परियोजना परियोजना अधिकृत शंकर प्रसाद उपाध्यायले तत्कालका लागि खाद्यन्न सामाग्री वितरण गरिएको बताए । उनले अहिले चामल, मसुरोको दाल, सिमी, केराउ, चिनी, नुन, तोरीको तेल, आटा, चना र अण्डा वितरण गरिएको जानकारी दिए ।