कर्णाली प्रदेश सरकार गठनको तिब्र तयारीमा


सुर्खेत । कर्णाली प्रदेशमा सरकार गठनका लागि दलहरुले तिब्र तयारी थालेका छन् । समानुपातिक सांसदहरुको सपथ लगत्तै दलहरुले सरकार गठनका लागि तयारी थालेका हुन् ।
कर्णाली प्रदेश सरकार गठनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री दाबी गर्दै आएका छन् ।
प्रत्यक्ष तथा समानुपातिक निर्वाचनको पूर्ण परिमाण आएर निर्वाचन आयोगले पुस १ गते प्रदेश प्रमुखलाई निर्वाचन परिमाण बुझाएपछि दलहरुले सरकार गठनका लागि तयारी थालेका छन् ।
कर्णाली प्रदेशसभामा ४० सांसदमध्ये नेपाली कांग्रेसका १३, माओवादी केन्द्रका १३, नेकपा(एमाले)का १०, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रका एक/एक जना सांसद रहेका छन् ।
केन्द्रमा हुने राजनीतिक गठबन्धनले प्रदेश सरकारको नेतृत्वमा फरक पर्ने भएकाले अहिले गठबन्धन कस–कसले गर्लान त्यो टुङ्गो नभएपनि कर्णाली सरकारको नेतृत्व पाउनका लागि माओवादी केन्द्र र कांग्रेसले सरकारको दाबी गरिरहेका छन् ।
कर्णाली प्रदेश सरकार नेतृत्व पाउनु पर्ने माओवादी केन्द्रको दाबी
माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारको नेतृत्व पाउनु पर्ने दाबी गरेको छ । माओवादी केन्द्रले कर्णाली प्रदेशमा विगतका तुलनामा माओवादी केन्द्रको मतभार बढी आएको कारणले सरकार नेतृत्व पाउनु पर्ने दाबी गरेको हो ।
माओवादी केन्द्रको बैठक बसेर कर्णाली प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले पाउनु पर्ने सुझाव केन्द्रमा पठाइएको माओवादी केन्द्रका कर्णाली प्रदेश सचिव धनजीत शाहीले जानकारी दिए । ‘हामीले केन्द्रमा माओवादी केन्द्रको नेतृत्वमा कर्णाली प्रदेश सरकार पाउनुपर्छ भनेर सुझाव दिएका छौं ।’ उनले भने,‘विगतकोभन्दा अहिले संघमा चार सिट र प्रदेशसमा प्रत्यक्षतर्फ नौ सिटमा विजयी भएका छौं । त्यो आधारमा हामीले सरकारको नेतृत्वको दाबी गरेका हौं ।’
संसदीय दलको नेता बन्न होडबाजी
कर्णालीमा संसदीय दलको नेता बन्नका लागि अहिले सांसदहरु होडबाजीमा रहेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेका अहिले संंसदीय दलको नेता बन्नका लागि दुई÷दुई जना आंकाक्षी देखिएका छन् ।
नेपाली कांग्रेसमा वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही र राजिवविक्रम शाह संसदीय दलको नेता बन्नका लागि आंकाक्षी देखिएका छन् । मुख्यमन्त्री शाही आफु नै संसदीय दलको नेता बन्ने बताई रहेका बेला शाहले अहिले सांसदहरुसँग संसदीय दलको नेता बन्नका लागि मत मागिरहेका छन् । यी दुबै नेता संस्थापन पक्षका हुन् ।
राजकुमार शर्मा र सुर्खेतका विन्दमान विष्टले दल नेतामा आकांक्षा देखाएका छन् । माओवादी केन्द्रमा को दलको नेता हुन्छ भन्ने बिषयमा केन्द्रको निर्णयमा भर पर्ने माओवादीका नेताहरुको भनाई रहेको छ ।
एमालेमा दलका नेता बन्नका लागि दुई जनाले आंकाक्षा देखाएको छ । एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेल र एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले दल नेता बन्नका लागि आंकाक्षा राखेका छन् ।