नगर अस्पतालमा भिडियो एक्सरे सुरु


कालीकोटः जिल्लाको तिलांगुफा नगरपालिकाले संचालन गरेको नगर अस्पतालमा भिडियो एक्सरे सेवा सुरु भएको छ ।
तिलांगुफामा भिडियो एक्सरे सुविधा भएपछि गर्भवती, सुत्केरी, दीर्घरोगी, दुर्घटनाका घाइतेलाई उपचारका लागी सहज हुने भएको छ ।
अब भिडियो एक्सरे गर्न जिल्ला अस्पताल मान्म र छिमेकी जिल्ला जुम्ला पुग्नुपर्ने बाध्यताबाट तिलांगुफाका नागरिकले मुक्ति पाउने भएका छन् ।
डा. टकप्रसाद आचार्यले अब नियमित बिरामीको चेक जाँच गर्ने भएपछि नागरिकमा खुसी छाएको छ । अब गर्भवती महिलाहरूले गर्भावस्था पत्ता लगाउन सदरमुकाम मान्म र छिमेकी जिल्ला जुम्ला जानुपर्ने बाध्यताबाट छुटकरा पाएका छन् । भिडियो एक्सरे मेसिन सञ्चालनपछि ठूलो दुःख टाढिएको गर्भावस्था चेक गर्न आएकी बिन्दा शाहीले बताइन ।
अब गम्भीर प्रकृतिका बिरामी र दुर्घटनाका घाइतेहरूको उपचारमा सहयोग हुने डा. टंकप्रसाद आचार्यले बताए । उनले भने, ‘एक्सरे सुविधा नहुँदा गर्भवतीलाई चेकजाँचका लागि जिल्ला अस्पताल पठाउनुपर्ने बाध्यता थियो, कतिपय बिरामीलाई अनुमानको भरमा औषधि सिफारिस गर्नुपरेको थियो ‘
नगरपालिकाकामार्फत नगरपालिका क्षेत्रमा नै सेवा प्रवाह गर्नका लागि धेरै प्रयासपछि यो सफलता हात परेको तिलांगुफा नगरपालिकाका उपप्रमुख महेन्द्र बहादुर शाहीले बताए । उनले भने यो सेवामार्फत आमा र बच्चाको अवस्थाबारे भिडियो एक्सरेबाट पत्ता लगाउन सजिलो हुने छ । अब सामान्य बिरामीले महगो खर्च हुने बाट बच्ने भएका छन् ।