७ चैत्र २०८१, शुक्रबार

शिक्षाको गुणस्तर सुधारका लागि तीन पक्षको भूमिका आवश्यकः उपसभापति खड्का


सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शिक्षाको गुणस्तर बृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीको समान भूमिका हुने बताएका छन् । उपसभापति खड्काले गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माविको ४९ ओैं वार्षिकोत्सब समारोह उद्घाटन गर्दै विद्यालयको गुणस्तर सुधारका लागि तीन पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताएका हुन् ।
अब्बल विद्यार्थी उत्पादन गर्नका लागि शिक्षकले राम्रो शिक्षा दिनुपर्छ, अभिभावकले त्यसको वातावरण तयार गरिदिनुपर्छ, विद्यार्थीले मन लगाएर पढ्नुपर्छ,’ गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माविको ४९ ओैं वार्षिकोत्सब समारोह उद्घाटन गर्दै उपसभापति खड्काले भने, ‘यी तीन पक्षको समन्वय र सहकार्य हुन सक्यो भने मात्रै गुणस्तरीय र अब्बल विद्यार्थी उत्पादन गर्न सकिन्छ ।’
विद्यार्थीलाई किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलाप र जीवन जिउने कला सिकाउनु आवश्यक रहेको उपसभापति खड्काले बताए । ‘गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप र अनुशासन, चरित्र र जीवन पद्धती सिकाउनेतर्फ पनि ध्यान दिन आवश्यक छ ।,’ उनले भने, ‘अनुशासन, चरित्रवान र जीवन पद्धती बुझेको विद्यार्थी अहिलेको आवश्यकता हो ।’
विद्यालयमा अभिभावकको निगरानी आवश्यक रहेको खड्काको बताए । ‘आफ्ना नानी–बाबुहरूलाई विद्यालय पठाएर मात्रै अभिभावकहरूको दायित्व पूरा हुँदैन्,’ खड्काले भने, ‘उनीहरूले कस्तो शिक्षा पाइरहेका छन्, पढाईको गुणस्तर कस्तो छ भन्ने कुराको जानकारी पनि राख्न जरुरी छ ।’