प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच वर्षदेखि चिकित्सक छैनन्


सुर्खेत । सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच वर्षदेखि चिकित्सक बिहिन बनेको छ । स्वास्थ्य केन्द्रमा कार्यरत डा. हेमराज शर्मा अध्ययन विदा सक्नासाथ बढुवा भएर गएपछि पाँच वर्षदेखि स्वास्थ्य केन्द्र डाक्टर बिहिन बनेको हो ।
एक जना एमबिबिएस डाक्टरसहित १२ जनाको दरबन्दी स्वास्थ्य केन्द्रमा भएपनि अहिले करारसहित ७ जनामात्रै कार्यरत रहेका छन् । अहिले अहेव २ जना, करारसहित अनमी ३ जना र २ जना कार्यालय सहयोगी गरेर ७ जनामात्र कार्यरत रहेका छन् । एक जना एमबिबिएस डाक्टर, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, ल्याब असिस्टेन्ट लगायतका दरबन्दी रिक्त रहेको स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज वीरबहादुर वलीले बताए । ‘दरबन्दीअनुसारको जनशक्ति नहुँदा स्थानीयहरु विशेषज्ञ सेवाबाट वञ्चित भएका छन् ।’ उनले भने,‘स्वास्थ्य केन्द्रमा एक्स–रे लगायत मेसिन उपकरणहरु छन् तर जनशक्ति नहुँदा भएका उपकरण पनि सञ्चालन गर्न सकिएको छैन् ।’