२५ वर्षपछि प्रहरी चौकी पुनःस्थापना


सुर्खेत । कालीकोटमा फुकोट प्रहरी चौकी २५ वर्षपछि पुनःस्थापना गरिएको छ । शसस्त्र द्वन्द्धकालमा सुरक्षाका कारणले विस्थापित भएको प्रहरी चौकी २५ वर्षपछि शुक्रबार पुनःस्थापना भएको हो ।
कालीकोट रास्कोट नगरपालिका–९ फुकोटमा (साविकको फुकोट गाविस) रहेको फुकोट प्रहरी चौकी बिसं.१९८१ सालमा तत्कालीन राणाकालीन समयमा स्थापित भएको थियो ।
शसस्त्र द्वन्द्वकालमा रहेको बेला विसं.२०५४ सालमा विस्थापित भएको प्रहरी चौकी पुनःस्थापना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटमा प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए । ‘तत्कालिन सुरक्षाका कारणले प्रहरी चौकी नजिकैको इलाका प्रहरी कार्यालयमा रास्कोटमा सारिएको थियो ।’ उनले भने,‘स्थायी प्रहरी चौकी भएका कारणले पुर्नस्थापना गरिएको छ ।’
प्रहरी चौकीमा एक जना प्रहरी सहायक निरीक्षकसहित १० जना प्रहरीको दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिमालले बताए ।
स्थानीयवासीको माग र सुरक्षा संवेदनशीलताका आधारमा चौकी पुर्नस्थापना गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए ।
प्रहरीलाई शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न र लामो इतिहास बोकेको प्रहरी चौकी पुर्नस्थापनाले स्थानीयबासी उत्साहित भएको रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाहीले बताए ।
प्रहरी बस्ने भवन रास्कोट नगरपालिकाले उपलब्ध गराएको छ ।