७ बैशाख २०८१, शुक्रबार

आर्थिक अभावले उपचार नपाएका बिरामीको गोठमा बास


हुम्ला । हुम्लामा एक बिरामी उपचार नपाएर तीन वर्षदेखि गोठमा बस्न बाध्य भएका छन् । सिमकोट गाउँपालिका–२ ठेहे गाउँका २७ वर्षीया नरेन्द्र बोहराले तीन वर्षदेखि उपचार नपाएर गोठमा बस्न बाध्य भएका हुन् ।
आँखा नदेख्ने, हिँडडुल गर्न नसक्ने भए अवस्थाका बोहरालाई परिवारले गोठमा राखेका हुन् ।
उपचार गर्न आर्थिक अभाव भएपछि उनलाई गोठमा राख्नु परेको परिवारका सदस्यहरुले बताएका छन् ।
आँखा नदेख्ने र छारे रोगको कारण शरीर काम्ने भएको कारण हिँडडुल गर्न नसक्ने भएपछि गोठमा राख्नुुपर्ने बाध्यता रहेको बिरामीका दाई रामबहादुुर बोहराले बताए । ‘पहिले पुरानो घर हुँदा परिवारका सदस्यसँगै बस्ने गरेको थियो ।’ उनले भने,‘नयाँ घर निर्माण गरिएकाले लिस्नो चढ्न नसक्ने भएपछि भाईलाई गोठमै राख्ने गरेका छौं ।’
बोहराले जन्मदेखि आँखा नदेख्ने, नौ दश वर्षको उमेरमा छारे रोग लागेकाले स्वास्थ्य अवस्था झन कमजोर हुँदै गएको आफन्तहरुले बताए ।
बोहरालाई एक पटक जिल्ला अस्पतालमा लगिएको र त्यहाँ चिकित्सकहरुले सन्चो हुन नसक्ने बताएपछि पुनः कुनै अस्पताल वा उपचारमा नलगिएको दाई रामबहादुरले बताए । ‘जिल्लाबाहिर आर्थिक अभावको कारण थप उपचारका लागि लग्न सकिएन् ।’ उनले भने,‘उपचारका लागि आर्थिक पनि भएन् । कता लैजानु ?’
बिरामी बोहरालाई परिवारका सदस्यहरुले खाना पकाएर गोठमै दिने गरेका छन् ।
बोल्न पनि नसक्ने उनले दिसा–पिसाव पनि गोठकै छेउमा गर्ने गरेका छन् ।