२४ माघ २०८१, बिहीबार

चिट चोराउने भन्दै विद्यार्थीबाट पैसा उठाइयो


सुर्खेत । जाजरकोटको कुशे गाउँपालिकास्थित लक्ष्मी माध्यमिक विद्यालय परीक्षा केन्द्र र जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा विद्यार्थीलाई चिट चोराउन सजिलो हुन्छ भनेर विद्यार्थीबाट पैसा असुल गरिएको छ । विद्यार्थीबाट पैसा उठाएर केन्द्राध्यक्ष र सुरक्षामा खटिएका प्रहरीलाई पैसा घुस खुवाएर चिट चोराउने भन्द्र विद्यार्थीबाट पैसा असुल गरिएको हो ।

आजबाट शुरु भएको कक्षा १२ को प्राबिधिक र सामान्यतर्फबाट विद्यार्थीबाट पैसा असुल गरिएको हो ।

स्रोतले दिएको जानकारी अनुसार कुशे गाउँपालिकाको जनता माध्यमिक–९ पैकका विद्यार्थीबाट प्रवेश शुल्क लिए वापत एक हजार, थर्पु माध्यमिक विद्यालय–९ ढिमेका विद्यार्थीबाट दुई हजार पाँच सय, लक्ष्मीप्राप्ती माध्यमिक विद्यालय–५ का विद्यार्थीबाट जनही विद्यार्थी एक हजार असुल गरिएको हो ।

लक्ष्मी प्राप्ती माध्यमिक विद्यालयका लेखापाल दलबहादुर सिंह र जनता माध्यमिक विद्यालयका लेखापाल दीपेन्द्र आरसीले पैसा लगेको नाम नबताउने सर्तमा एक विद्यार्थीले जानकारी दिए ।
विद्यार्थीबाट प्रवेशशुल्क वापतको उठाएको रकमबाट केन्द्राध्यक्षलाई ५० हजार रकम बुझाउने सर्त राखिएको एक विद्यार्थीले जानकारी दिए ।

कक्षा १२ को परीक्षा पैसा अगाडी नै विद्यार्थीले परीक्षाको बोर्डको खातामा जम्मा गरिसकेका हुन्छन् । लेखापालद्वय सिंह र आरसीले परीक्षाको अघिल्लो दिन (हिजो) आइतबार पैसा असुल गरेका हुन् ।