९ असार २०८१, शनिबार

वीरेन्द्रनगरले आगामी तीन वर्षमा बालविवाह अन्त्य गर्ने


सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले आगामी तीन बर्षमा बालविवाह अन्त्य गर्ने योजना सार्बजनिक गरेको छ । बिहिबार सुर्खेतमा आयोजित एक कार्यक्रममा आगामी तीन वर्षमा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणा गर्ने गरि अभियान सञ्चालन नगरपालिकाका मेयर मोहनमाया ढकालले जानकारी दिइन् ।

‘यो बालविवाह विरुद्धको सुरुवाती हो, बालविवाह विरुद्ध हामी सवै मिलेर लडाई लड्नु पर्छ ।’ नगर प्रमुख ढकालले भनिन्,भनिन्,‘वीरेन्द्रनगर नगरपालिकाले यसको नेतृत्व गर्नेछ ।’

वीरेन्द्रनगर नगरपालिकाको रणनैतिक योजना नभएकोले तीन वर्षीय गुरुयोजना बनाएर बालविवाह अन्त्य गर्ने लक्ष्य लिएको र पालिकाको बालविवाह अन्त्यका लागि रणनीतिक योजना निर्माण कार्यको थालनी गरेको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले जानकारी दिए ।

नेपालको संविधानको धारा ३९ को उपधारा ५ मा उल्लेखित कुनै पनि बालवालिकालाई बालविवाह, गैरकानूनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन भन्ने व्यवस्था र बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ ले सन् २०३० सम्म नेपालबाटै बालविवाह अन्त्य गर्ने लक्ष्य लिएको छ । नेपालको कानूनले विवाहको लागि २० बर्ष उमेर तोेकेको छ । संविधानले बालविवाहलाई पहिलो पटक बालअधिकार हनन्को बिषयको रुपमा उल्लेख गरी दण्डनीय अपराधको रुपमा स्वीकार गरेको छ ।

नेपालमा आफ्नो उज्जल भविष्य निर्माण गर्ने उमेरका बालबालिकाहरुमा नै बालविवाह गर्ने प्रचलन ब्याप्त छ ।

यो समस्या कर्णाली प्रदेशमा अन्य प्रदेशको तुलनामा अंझै अधिक रहेको बिभिन्न तथ्याङ्क र अध्ययनहरुले देखाएको छ । नेपाल जनसाङ्खीक स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार यो प्रदेशमा २१ प्रतिशत बालवालिका १९ बर्ष नपुग्दै आमा बन्ने गरेको तथ्याङ्कमा देखिएको छ, जुन अन्य प्रदेशमध्ये सबैभन्दा धैरै हो । २०७८ को जनसंख्याले सुर्खेत जिल्लामा बालविवाहको दर ७०.७६ रहेको देखाएको छ । जुन २०६८ भन्दा करिव ४ प्रतिशतले बढि हो । यसैगरी नेपालमा पहिलो विवाह गर्दाको औसत उमेर १९ बर्ष रहेको पाइएको छ ।

अध्ययनअनुसार कर्णाली प्रदेश सरकारसँग बालविवाह अन्त्यका लागि रणनैतिक योजना, नीति तथा कार्यक्रम, लक्ष्य र प्रादेशिक नारा पनि नभएको र ७९ वटा पालिकामध्ये १० वटा पालिकाहरुमा मात्रै बालविवाहको विषयलाई सम्बोधनका लागि नीति तथा कार्यक्रम र रणनैतिक योजना भएको पाइएको छ ।

बालविवाह निर्मुल गर्न आफैमा चुनौतीपुर्ण त छँदैछ तर बालविवाहकै कारणले सुर्खेतमा ३०.६७ प्रतिशत १९ वर्ष मुनिका गर्भवती महिलाहरु रहेको देखाएको छ । बालविवाह अन्त्यका लागि संचालन गरेको कार्याशाला गोष्ठीमा सरोकारवालाहरुले हामी सबैले बालविवाह अन्त्य गर्नमा सहयोग गर्न तयार रहेको जानकारी गराएका छन् । बालविवाह विरुद्ध साझा अभियान सुर्खेतका सवै सदस्यहरुले वीरेन्द्रनगरलाई बालविवाह अन्त्यमा सहयोग गर्ने कुरा राखेका थिए भने सहयोगी निकायले विरेन्द्रनगर नगरपालिकाको योजनालाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गरेका छन् ।