मुगु र हुम्लामा अफवाहः एक लाखमा सुर्खेत घडेरी भ्रम नपर्न स्थानीय सरकारको आग्रह
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सस्तो मूल्यमा जग्गा दिलाइदिने भन्दै मुगु र हुम्लामा अफवाह फैलाइएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ को करेखोलामा एक लाख रुपैयाँ मूल्यमा जग्गा दिलाई दिने भन्दै मुगु र हुम्ला जिल्लाका सर्वसाधारणमा अफवाह फैलाइएको हो ।
त्यही अफवाहका आधारमा केही मानिसहरु सुर्खेत झर्ने गरेको पाइएको छ ।
सुर्खेतको एक सहकारीले किनेको जग्गा बैंक लिलामी हुन लागेको भन्दै मुगु र हुम्लामा अफवाह फैलाइएको त्यसबाट नागरिक भ्रमित बनेका हुन् ।
मुगुको छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुबहादुर भामले जानकारी दिए । ‘एक लाख रुपैयाँमा सुर्खेत घडेरी पाइने भनेर सर्वसाधारणबाट एक लाख उठाउने हल्ला चलेको पाइएको त्यसलाई रोक्न नगरपालिकाले अहिले गाउँ गाउँमा भ्रमित नहुन भनेको छौं ।’ उनले भने,‘त्यो आधारमा भ्रम सिर्जना गरि सुर्खेततर्फ लिएर गएको कतिपय व्यक्तिलाई केही समयपछि कारोवार गर्ने गरि त्यस्तै प्रकारको भ्रम सिर्जना गरिएको छ ।’
हामीले कोही पनि त्यस्तो आर्थिक झमेलामा नफस्न भनेको नगर प्रमुख भामले बताए ।
केही दिन अघि जिल्ला प्रहरी कार्यालय मुगुको स्रोतका अनुसार सुर्खेतबाट आएका एक जना महिला र एक स्थानीय महिलालाई सुर्खेतमा सस्तो जग्गा पाउने प्रभोलन पार्ने गरेको सूचनाका आधारमा पक्राउ गरेको थियो । तर, उनीहरु बिरुद्ध कुनै उजुरी नपरेपछि केही समयपछि छाडिएको थियो ।
सस्तो जग्गा मिलाइने स्थानीय एजेन्टको मोवाइलमा सात चोटी फोन गर्दा पनि उठेन ।
सस्तो मूल्यमा जग्गा पाउने केही मानिसहरु अहिले पनि सुर्खेत झरिरहेका छन् ।
कर्णालीपाटी । १२ श्रावण २०८०, शुक्रबार १३:०७