२२ कार्तिक २०८१, बिहीबार

गाउँमै चाउमिन उद्याेग खाेलेर मनग्य आम्दानी


जुम्ला । गाउँमा रोजगारी नभएपछि काला पहाड र खाडी मुलुक जाने युवा संख्या बढीरहेको अवस्थामा सिञ्जा गाउँपालिका वडा नं ५ का रत्नलाल बुढा गाउँमै चाउमिन उद्योगमा लागि परेका छन् । रत्नलालले २०७५ सालमा ‘आरबी चाउमिन तथा सस उद्योग’ उद्योग खोेलेका हुन् । गाउँघरमा नियमित हुने कार्यक्रमहरुले खाजा नास्तामा चाउमिनको माग बढ्दो छ । सिञ्जा क्षेत्रका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकाका विभिन्न बजारलाई लक्षित गर्दै सिञ्जामा चाउमिन उद्योग खोलेको रत्नलाल बताउँछन् ।
विगतमा हिङ सिलाजित बेच्न उनी भारत तथा नेपालकै पूर्वी क्षेत्रमा विभिन्न ठाउँमा जान्थे । आम्दानीका हिसाबले दीर्घकालीन नभएपछि गाउँ फर्किएका हुन् । उनले भने, ‘भारतबाट फर्किएपछि बुबाले विदेश जानुपर्छ भने पनि मैले विदेश त्यागे । गाउँमै केही गर्न खोजे । व्यापारमा जाँदा चाउमिन उद्योग देखेको थिए । गाउँमै उद्योग खुलेपछि कमाइ हुन्छ भन्ने लक्ष्यले उद्योग खोलेको हुँ । अहिले कमाई राम्रै छ ।’ ३० वर्षीय युवा रत्नलालले चार जनाको परिवारलाई चाउमिन उद्योगकै कमाइबाट पालेका छन् ।
सुरुमा तराईबाट एक जना कालिगड ल्याएर करिब नौ लाख बढीको लगानीमा उद्योग खोलेको उनले बताए । गत वर्ष एक्कासि उद्योग आगलागी भएपछि १०/१५ लाखको नोक्सान भएको उनले बताए । गाउँमै केही गर्नुपर्छ भन्ने हुटहुटीले विदेश त्यागेका रत्नलाललाई उद्यमशीलतामा जम्न कसैले रोक्न सकेन् । पुन: ऋण जोहो गरेर उनले चाउमिन उद्योग सञ्चालन गरेका छन् । २०७५ सालमा ९ लाख लगानीमा उद्योग खोले पनि गत वर्षको आगलागीले सबै क्षती पुर्‍याएको थियो ।
पुन: ६ लाख लगानी गरेर उद्योगलाई निरन्तरता दिएको उनको भनाइ छ । दैनिक एक क्विन्टल चाउमिन बिक्री हुने गरेको छ । मासिक रूपमा २ देखि ३ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले जानकारी दिए । यद्यपि हिउँदको समयमा भने चाउमिन कम बिक्री हुने गरेको छ । चाउमिन उद्योग खोलेपछि परिवार पाल्नका लागि कतै भौँतारिनु नपरेको उनले बताए । पश्चिममा नाग्म बजारदेखि पूर्वमा भुलभुले, गुठिज्युलालगायतका दर्जनौ बजारमा चाउमिन पुर्‍याउने गरेको उनी बताउँछन् ।
उनले भने,‘सिञ्जा क्षेत्रमा सुरुमा मेरो मात्रै चाउमिन उद्योग थियो । अहिले कनकासुन्दरीको गुठिज्युलामा पनि उद्योग खुलेको छ । तर मेरो बजार भने कम छैन । माग अनुसार अझै पुर्‍याउन सकेको छैन ।’ आगलागीपछि चाउमिन लेबलिङ प्याकेजिङ गर्ने मेसिन अभाव भएकोले सहयोगको अपेक्षा गरेको उनले बताए । स्थानीय सरकार तथा कुनै निकायले हालसम्म सहयोग नगरेको उनको गुनासो छ । गाउँमै ऋण जोहो गरेर निरन्तर उद्योग सञ्चालन गरिरहेको पनि स्थानीय सरकारले सीप, प्रविधिको सहयोग दिन नसकोको उनले बताए ।