२४ माघ २०८१, बिहीबार

पर्यटन प्रवद्वनका लागि रूढुबन्चुमा नगरसभा


कालीकोटः जिल्लाको तिलागुफा नगरपालिकाले पर्यटन प्रवद्धनका लागि हिउँदे नगरसभा तिलागुफा नगरपालिकाको वडा नं १० को रुडुबन्चुमा आयोजना गरेको छ ।
पर्यटकीय क्षेत्रका रुपमा तिलागुफालाई विकास गर्नका लागि पर्यटकीय क्षेत्रमा नगरपालिकाको १४ र्औं नगरसभा रुढुबन्चुमा गरिएको हो । रुढुबन्चु पर्यटकीय क्षेत्रका नाममा २०६५÷०६६ सालदेखि सुरुवात भएको थियो । लोकतान्त्री व्यवस्थापछि पनि यस क्षेत्रको विकासका लागि प्रचार प्रसार हुन सकेन करिव ७ वर्षको अवधिपछि तिलागुफा नगरपालिकाले यसलाई विश्वसामु चिनाउन र पर्यटकीय क्षेत्रका रुपमा विकास र प्रचार प्रसार गर्नका लागि आफ्नो १४ र्औं नगरसभा रुढुबन्चुमा गरिएको नगप्रमुख शंकरप्रसाद उपाध्यायले बताए ।
उनले तिलागुफा नगरपालिकामा रहेका पर्यटकीय क्षेत्रको विकास गरि पर्यटन बोर्डलाई तिलागुफा नगरपालिकामा भित्र्याइ संसार सामु चिनाउनका लागि नेपाल पर्यटन बोड र नगरपालिकाको साझेदारीमा काम गर्ने उद्देश्यले नगरसभा पर्यटकीय क्षेत्रमा राखिएको प्रमुख उपाध्यायले बताए ।
सुन्दर पाटन र मनमोहक दृष्य भएको रुडुबन्चु क्षेत्रमा पहिलो पटक नगरपालिकाले हिउँदे नगर सभा गरेको हो । नगरपालिकाले पर्यटकीय क्षेत्रको विकासको लागि धार्मिक तथा पर्यटकीय क्षेत्र रुडुको प्रवर्द्धन एवं संरक्षण गर्न र अन्य क्षेत्रको विकासका लागि बिभिन्न विभिन्न निर्णय गरेको नगरउपप्रमुख महेन्द्रबहादुर शाहीले बताए ।
उपप्रमुख शाहीका अनुसार, तिलागुफा नगरपालिकामा रहेका पर्यटकीय क्षेत्र रूडुबन्चु, पुगमालिका, तिलागुफा लगायतका क्षेत्र घोषणा गरी पर्यटन सँग सम्बन्धित बिकास पुर्बाधार निर्माणका लागि संघ तथा प्रदेश सरकार लगायत अन्य दातृ निकायसँग माग गर्ने, तिलागुफा नगरपालिका वडा नम्बर ९ स्थित भटारीकाध पर्यटकिय बिमान स्थल निर्माण का लागि संघिय सरकार तथा प्रदेश सरकार लगायत अन्य सरोकारवाला संग माग गर्ने, तिलागुफा नगरपालिकाका आम नगरबासिहरूको आवत जावत गर्ने कार्यमा देखियको समस्यालाई समाधान गर्न नगरबस सेवा संचालनको लागि २ वटा बस मापदण्ड बनाइ खरिद तथा संचालन प्रक्रियालाइ चालु आर्थिक वर्षमा यथासिघ्र कार्यान्वयन गर्ने निर्णय गरिएको बताए ।
साथै उनले तिलागुफा नगरपालिकाको लागि आवश्यक पर्ने देहायको ऐन, नियम र कार्यबिधिलाई अनुमोदन गर्ने निर्णय समेत गरेको बताए । न्यायिक समितिले उजुरीको कार्बाही किनारा गर्दा अपनाउनु पर्ने कार्यबिधि सम्बन्धि ऐन २०८०, तिलागुफा नगरपालिकाको सार्वजनिक निजि साझेदारी निति–२०८० तिलागुफा नगरपालिकाका पदाधिकारी आचारसंहिता–२०८० अनुमोदन गरेको जानकारी दिए ।