पञ्चदेवल मावि सहितका २ वटा विद्यालयका शिक्षकले पाएनन् तलव


कालीकोटः जिल्लाको सान्नित्रिवेणी गाउँपालिकामा रहेको पञ्चदेवल माध्यमिक विद्यालय सहितका २ वटा विद्यालयमा अध्यापन गराउदै आएका शिक्षकले ५ महिना वितिसक्दा पनि तलव पाउन नसकेको गुनासो गरेका छन् ।
त्रैमासिक रुपमा तलव भत्ता बुझ्दै आएका शिक्षकहरुले ५ महिना वितिसक्दा पनि आफुहरुले तलव भत्ता नपाएको बताएका हुन् । सान्नित्रिवेणी गाउँपालिकामा २९ वटा सामुदायिक विद्यालय छन् । २९ वटा विद्यालय मध्ये २६ वटा विद्यालयले समयमै सामाजिक लेखा परिक्षण प्रतिवेदन बुझाएकाले समयमै तलव भत्ता पाएको भएपनि पालिकामा रहेको पंचदेवल मावि मेहलमुडी, जनज्योती मावि तिकुवा र विद्याज्योति मावि लुइयाटामा अध्यापन गराउने शिक्षकले तलब भत्ता पाउन सकेका छैनन् ।
३ वटा विद्यालयले समयमै सामाजिक लेखा परिक्षण प्रतिवेदन नबुझाएका कारण तलव भत्ता रोकीएको शिक्षा शाखा प्रमुख मोहनविर धामीले बताए । उनका अनुसार जनज्योती मावि तिकुवा र विद्याज्योति मावि लुइयाटाले आर्थिक वर्ष २०७९।०८० को सामाजिक लेखा परिक्षण प्रतिवेदन बुझाएका छैनन् भने पञ्चदेवल माविले ३ वर्षदेखिको सामाजिक लेखा परिक्षण प्रतिवेदन बुझाएको छैन् । सार्वजनिक सुनुवाई र सामाजिक लेखा परिक्षण नगरेका कारण तलव भत्ता रोकीएको शिक्षा शाखा प्रमुख धामीले बताए ।
सान्नी त्रिवेणी गाउँपालिकाले पटक पटक सुचना निकालेर समयमै सामाजिक लेखा परिक्षण प्रतिवेदन पेश गर्न भनेपनि अहिले सम्म सामाजिक लेखा परिक्षण नगरेका पालिकाका ३ वटा विद्यालयको तलब भत्ता रोक्का गरिएको हो । यता पञ्चदेवल माविका प्रधानाध्यापकलाई यस विषयमा बुझ्न खोज्दा फोन उठेन ।
कर्णालीपाटी । ६ फाल्गुन २०८०, आईतवार १३:५४