६ जेष्ठ २०८१, आईतवार

मुगुका कारागार नहुँदा कैदीबन्दीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता


मुगु । हिमाली जिल्ला मुगुमा आफ्नै कारागार भवन नहुँदा कैदीलाई अन्यत्र राख्नुपर्ने बाध्यता छ । कारागार नभएका कारण विगत ११ वर्षमा १ सय ४२ जना कैदीबन्दी अन्यत्र पठाइएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

कारागार नभएका कारण कैदीलाई जुम्ला, सुर्खेत, बाँके, बर्दिया र दाङलगायत जिल्लामा पुर्‍याउनुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापाले बताए । उनले भने, ‘मुगुमा अहिलेसम्म पनि कारागार छैन । जिल्ला कारागार भवन निर्माण भए पनि ठेकेदार कम्पनीले हस्तान्तरण गरेका छैनन्। भवन नहुँदा जिल्लामा कैदीबन्दीलाई राख्न अन्यत्र जिल्लामा व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।’

थुनुवालाई राख्नका लागि अन्य जिल्ला चलानी गर्नुपर्ने बाध्यता रहेको डिएसपी वीरेन्द्र थापाले बताए। ‘अदालतमा हाजिर गराउन लैजान र ल्याउनमै लाखौं रुपैयाँ खर्च भइरहेको छ’, उनले भने, ‘अर्कातिर सुरक्षाका हिसाबले थप कडा चुनौती छ।’

थुनुवा र कैदीलाई अर्को जिल्ला चलान गर्दा गाडी रिजर्ब गरेर लैजाने र ल्याउने गरिएको डिएसपी वीरेन्द्र थापाले बताए । उनी भन्छन्, ‘यसअघि सडक सुविधा नहुँदासम्म तीन दिनसम्म पैदल हिँडेर जुम्ला कारागार पुर्‍याउनुपर्ने बाध्यता थियो । अहिले सडक मार्गबाट डेढ दिन लगाएर कैदीबन्दीलाई कारागार चलान गर्नुपर्ने अवस्था छ ।’

डिएसपी वीरेन्द्र थापाका अनुसार जिल्लामा कारागार नहुँदा अभियुक्त र आरोपितका आफन्तले परिवारलाई भेटघाट गर्न पाउँदैनन् । भेट्नका लागि मोटो रकम खर्च गर्नुपर्ने हुन्छ ।

प्रहरीका अनुसार एकजना कैदीबन्दीलाई जेल पुर्‍याउनका लागि कम्तीमा नौजनासम्म सुरक्षाकर्मी खटिनुपर्छ । त्यतिका सुरक्षाकर्मीसहित आवतजावत् गर्दा ९० हजारदेखि एक लाख रुपैयाँ खर्च आउँछ ।

कारागारको आफ्नै भवन नहुँदा कैदीबन्दी राख्न असहज भएको जिल्ला कारागार प्रमुख हस्त भामले गुनासो गरे । ‘कारागार नभएको एक मात्र जिल्ला मुगु हो’, उनले भने, ‘कारागार समस्याले थुनुवा व्यक्ति जिल्ला बाहिर रहने तर बहस मुगु अदालतमा हुने गर्छ । यो अवस्थाले कैदीबन्दीले अदालतमा आफ्नै बहस सुन्नबाट समेत वञ्चित हुनुपर्ने अवस्था छ ।’

जिल्ला कारागारले सार्वजनिक गरेको तथ्यांकअनुसारअनुसार पछिल्लो ११ वर्षमा एक सय ४२ कैदी जिल्ला बाहिर चलान भएका छन् । २०७० मा १० जना, ०७१ मा ९ जना, ०७२ मा ११ जना, ०७३ मा १० जना र ०७४ मा ४ जना कैदीबन्दीलाई थुनामा राख्न जिल्ला बाहिर पठाइएको थियो ।

त्यसैगरी ०७५ मा १९ जना, ०७६ मा २१ जना, ०७७ मा १२ जना, ०७८ मा १७ जना र ०७९ मा १९ जना र ०८० को गत साउन १ देखि माघ समान्तसम्म १७ जना कैदीबन्दीलाई जिल्ला बाहिरका कारागारमा चलान गरिएको छ । हरेक वर्ष १२ देखि २० जना कैदीबन्दी जिल्ला बाहिर जुम्ला, बाँके, बर्दिया र दाङलगायत जिल्ला कारागार पठाइएको छ ।

प्रहरीका अनुसार जिल्ला कारागार भवन नै बनाउन नखोजिएको भने होइन । जिल्लामा नौ वर्षअघि नै भवन निर्माण सुरु भएको थियो, तर अहिलेसम्म पनि भवन बनिसकेको छैन । गमगढी थापालचौरमा नौ वर्षअघि निर्माण कार्य सुरु गरिएको कैदी भवन अहिलेसम्म जिल्ला कारागारलाई हस्तान्तरण हुन सकेको छैन ।

भवन डिभिजन कार्यालयले ०७१ सालमा ३ करोड ५० लाख ठेक्का खोलेर कारागार भवन निर्माण गरे पनि प्रयोगविहीन छ ।