१७ जेष्ठ २०८१, बिहीबार

हिल्सा–सिमकोट सडक आयोजनालाई बजेट अभाव


सिमकोट । हिल्सा सिमकोट सडक आयोजनालाई बजेटको अभाव भएको पाइएको छ । आयोजनालाई कवाडीदेखि हिल्सासम्म काम गर्ने योजना बढी तर मन्त्रालयबाट बजेट कम बिनियोजिता भएपछि बजेटको अभाव देखिएको हो ।

आयोजनाले चालु वर्षमा बजेटको अभाव देखिएको जनाएको छ । आयोजनाले हुम्ला जिल्ला भित्र पर्ने कर्णाली करिडोरको कवाडीदेखि चीनसँगको सिमाना हिल्सासम्म सडक निर्माणको काम गर्दै आएको छ । यी क्षेत्रमा एउटा नयाँ सडक निर्माण र छ वटा वडा स्तरोन्नती गरि सात वटा सडकका योजना रहेका छन्। पाँच वटा पक्की पुल निर्माण कार्य भइरहेका छन् ।

त्यसैगरी सलीसल्लादेखि हिल्साको १२५ दशमलव नौ किलो मिटर सडक खण्डमा पाँच वटा कल्भर्ट पनि निर्माणाधीन अबस्थामा छन् । एउटा योजनाको बजेट तीस करोडसम्म छ। अधिकांश योजनाको निर्माण धमाधम भइरहेको छ। चालु वर्षका यी सडक, पुल र कल्भर्ट निर्माणका लागि तीस करोड पाँच हजार बजेट मात्र बिनियोजित गरिएको छ। जव कि आयोजनालाई सत्तरीदेखि असी करोड बजेट बार्षि आवश्यक पर्छ।

आयोजनाको लेखा प्रमुख बिजय रोकायाले बिनियोजित बजेट मध्य १७ करोड भुक्तानी दिई सकिएको छ भने आठ करोडको बील उठेको बताए। काम गर्ने समय अझै बाँकी भएको कारण हालको बजेट अपुग हुने निश्चित देखिएको छ । अब पाँच करोड मात्र बाँकी रहनेछ। आयोजनाका निर्माणधिन योजना बहुवर्षीय रहेका छन् ।

बजेट अपुग हुने देखिएपछि आयोजनाले २१ करोड बजेट थप माग गरेको एक महिना भन्दा बढी भएको भएपनि हालसम्म बजेट आएको छैन्। बजेटको अभाव हुने देखिएको कारण समय मै बजेटको ब्यवस्था गर्न मन्त्रालय र बिभागलाई आयोजनाले लिखित आग्रह गरेको छ । केही योजनाको निर्माण कार्य बजेट अभावको जानकारी गएपछि काम सुस्ताएको छ । आयोजनाले हालसम्म साठी प्रतिशत भौतिक प्रगति हाँसिल गरेको छ भने ३९ प्रतिशत बित्तिय प्रगति हासिल गरेको छ ।