२ जेष्ठ २०८१, बुधबार

बच्चा बोकेरै नागरिकको सेवामा अनमी नविता


कालिकोट । कालिकोट पचालझरना गाउँपालिका–४ का ३० वर्षीया अनमी नविता उपाध्याय राम्नाकोटस्थित स्वास्थ्य चौकीमा कार्यरत छन् । उनको साथमा ११ महिनाको बच्चा छ । नविता बच्चा पिठ्युमै बोकेर बिरामी गर्भवती तथा सुत्केरी महिलाको सेवा गर्दै आएकी छन् ।

२२ चैत २०७३ मा जुम्लाबाट अनमी पदमो स्थायी नियुक्ति पाएकी उनले हुम्लाको सर्केगाड गाउँपालिकास्थित स्वास्थ्य चौकीमा काम गरिन् । वि।सं। २०७५ सालमा सरुवा भएर कालिकोटको नरहरिनाथ गाउँपालिका स्वास्थ्य चौकी माल्कोटमा एक वर्ष सेवा गरिन् । वि.सं. २०७६ मा कर्मचारी समायोजनपछि पचालझरना गाउँपालिका स्वास्थ्य चौकी राम्नाकोटमा पदस्थापन भएकी हुन् ।

वि.सं. २०७९ फागुनमा प्रदेश अस्पताल सुर्खेतमा २१ दिने ग्रामीण अल्ट्रासाउन्ड तालिम लिए लगतै २६ चैतमा प्रदेश अस्पतालमा उनले बच्चा जन्माइन् । सुत्केरी अवस्थामा हुँदा पनि वि.सं. ०८० बैशाखदेखि ग्रामीण अल्ट्रासाउन्ड सुरु गरेर बैशाख, जेठ र असार महिनामा दुई सयभन्दा बढी गर्भवती महिलाको अल्ट्रासाउन्डबाट स्वास्थ्य परीक्षण गरिन् ।

केही त्यस्ता समस्या देखिएको गर्भवती महिलालाई जिल्ला अस्पताल कालिकोट, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा सिफारिस गर्ने गरिएको उनले बताइन् । ‘तीन वटा स्वास्थ्य चौकीमार्फत ८, ९ र १० गते ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम संचालन गर्ने गरेका छौं । स्वास्थ्य संस्था इमर्जेन्सी, आयुसिडी र इम्प्लाण्ट सेवा पनि प्रदान गर्दै आएका छौं,’ उनले भनिन् ।