६ कार्तिक २०८१, मंगलवार

कर्णालीका नवनियुक्त मन्त्रीले लिए शपथ


सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई प्रदेश मंगलबार प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् ।
शपथ लिनेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावत रहेका छन् ।
कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । गत चैत्र २८ गठन भएको मन्त्रीपरिषद्को नेपालको संबिधानको धारा १६८ को उपधारा (९) बमोजिम आज मंगलबार कर्णालीको मन्त्रीपरिषद् गठन भएको हो ।
मुख्यमन्त्री यामलाल कँडेलले आज पूर्ण रुपमा मन्त्रीपरिषद् गठन भएको छ ।

भौतिक मन्त्रालय नपाएपछि शाहले गरे शपथ बहिस्कार
मुख्यमन्त्री कँडेलले सांसद विनोदकुमार शाहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएपछि उनी रुष्ट बनेका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा दाबी गरेका शाहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएपछि उनले शपथ ग्रहण कार्यक्रम नै बहिस्कार गरेका छन् ।
कर्णाली प्रदेशमा एमालेमा कँडेल र शाहबीच गुटगत राजनीति छ ।
माओवादीले सोही आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, ऊर्जा तथा जलस्रोत मन्त्रीमा रणसिंह परियार, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही र दुर्ग रावतलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनायो ।
एमालेको भागमा भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि, व्यवस्था, कृषि तथा सहकारी र कानुन मन्त्रालय परेको थियो । मुख्यमन्त्री कँडेलले आफ्नो दलबाट शेरबहादुर बुढालाई भौतिक, विनोदकुमार शाहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिए । कानुन मन्त्रालय आफैसँग राखे ।
पार्टी केन्द्रको निर्देशन विपरीत मन्त्री नियुक्त गरेको र शपथ ग्रहण गर्ने बेलासम्म कुन मन्त्रालय हो भन्ने कुरा नभनेकाले आफू सपथग्रहण कार्यक्रममा नगएको सांसद विनोदकुमार शाहले बताए । ‘मुख्य कुरा वरियताको हो ।’ उनले भने, ‘अर्को शपथ ग्रहणमा जानुभन्दा पहिला एक मिनेटसम्म पनि तिमीलाई फलानो मन्त्रालयमा हो भनेर भनिएन । कुन मन्त्रालय हो भनेर सोधेँ, उहाँले शपथमा आऊ कुन मन्त्री हो त्यहीँ थाह हुन्छ भनेर जवाफ दिनुभयो । त्यसपछि उहाँले फोन उठाउनुभएन ।’