३ कार्तिक २०८१, शनिबार

कर्णालीको बजेट ३१ अर्ब ४१ करोड


सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बजेट सार्वजनिक गरेको छ । जसमा चालुतर्फ सात अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात २४.१२ प्रतिशत र पुँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार ५९.७ प्रतिशत रहेको छ । अर्थमन्त्री महेन्द्र केसीले प्रदेशसभामा बजेट पेस गरेका हुन् ।

सुशासन र सामाजिक न्यायसहितको समृद्ध कर्णाली, सामाजिक आर्थिक र भौतिक विकाससहितको समाजवाद उन्मुख कर्णाली भन्ने मुल ध्येयका साथ आर्थिक समृद्धि, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उद्यमशिलता विकास गरी समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन सोंच कार्यान्वयन गर्न आगामी बजेट केन्द्रित हुने अर्थमन्त्री केसीले बताए ।

कर्णालीका कुन मन्त्रालयलाई कति बजेट ?
कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले आगामी आर्थिक वर्षका लागि भौतिक तथा सहरी विकास मन्त्रालयलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् ।
उनले भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि १० अर्ब ४६ करोड विनियोजन गरिएको बताए । यस्तै सामाजिक विकास मन्त्रालयका लागि ५ अर्ब ७२ करोड विनियोजन गरिएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका लागि २ अर्ब ८६ करोड रकम विनियोजन गरिएको छ ।

कानुन मन्त्रालयलाई आगामी वर्षका लागि २९ करोड ६४ लाख विनियोजन गरिएको छ । भूमि, व्यवस्था, कृषि मन्त्रालयका लागि १ अर्ब ८६ करोड बजेट विनियोजन गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि १ अर्ब ९४ करोड विनियोजन गरिएको छ ।