३ कार्तिक २०८१, शनिबार

कर्णालीमा माओवादी केन्द्र पहिलो पटक प्रतिपक्षमा


सुर्खेत । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता समिकरण बनेपछि कर्णाली प्रदेशको सत्ता पनि फेरबदल हुने भएको छ । यससँगै कर्णालीमा माओवादी केन्द्र पहिलो पटक सत्ता बाहिर हुनेछ ।

कर्णालीमा विसं २०७४ सालमा प्रदेशसभा गठन भए यता माओवादी केन्द्रले दुई पटक प्रदेशको नेतृत्व गर्नुका साथै सधैँ सत्तामा रहँदै आएको थियो ।

यसअवधिका कर्णालीमा विसं २०७४ सालमा महेन्द्रबहादुर शाही र विसं २०७९ मा राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए । लगातार सत्ताको पेरीफेरीमा घुम्दै आएको माओवादी दुई ठूला पार्टी मिलेपछि कमजोर प्रतिपक्षीको भूमिकामा पुगेको छ ।

माओवादीले कर्णालीमा हालसम्म प्रतिपक्षीको स्वाद चाख्न पाएको छैन । कर्णालीमा हाल एमाले नेतृत्व सरकारमा चार जना मन्त्री रहेका छन् ।

मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको प्रदेश सरकारमा माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्रबहादुर केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावत, उर्जा तथा जलस्रोत मन्त्री रणसिंह परियार र सामाजिक विकास मन्त्री वीरबहादुर शाही सहभागी छन् ।

कर्णालीमा एमाले र कांग्रेसको सरकार बनाउन बहुमत पुग्छ । ४० सदस्यीय प्रदेशसभामा ३९ जना सांसद छन् । नेपाली कांग्रेस संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीलाई बाइड बडी जहाज खरिद प्रकरणमा अख्तियारले बिषेश अदालतमा मुद्धा दायर भएका कारणले अहिले निलम्बनमा रहेका छन् ।

प्रदेशसभामा कांग्रेस (एक निलम्बन) १५, माओवादी केन्द्र १३, एमाले १०, एकीकृत समाजवादी र राप्रपाका एक÷एक सांसद छन् । अब माओवादी प्रमुख प्रतिपक्ष बन्नेछन् ।

केन्द्रमा सत्ता समिकरण फेरबदल भएसँगै गठबन्धन सरकार कुन प्रक्रियाबाट अगाडि बढ्छ सोही अनुसार निर्णय लिने माओवादीका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताए ।