३ कार्तिक २०८१, शनिबार

दैखोलाको पक्की पुल बाढीले बगायो


सुर्खेत । कर्णाली राजमार्गको अन्र्तगत दैखोलामा रहेको पक्की पुल बाढी बगाएको छ । कालीकोट र दैलेखको सिमानामा जोड्ने दैखोला बनेको पक्की पुल बुधबार राती आएको बाढीपहिरोले बगाएको हो ।
बाढीपहिरोले पुल बगाएका कारणले कर्णाली राजमार्ग अबरुद्ध भएको छ ।
बुधबार राती आएको बाढीपहिरोले कर्णाली राजमार्गको दैखोलामा बनेको पक्की पुल बगाएको कालीकोट खाँडाचक्र नगरपालिका–१ का अनन्त बरालले बताए । ‘पक्की पुल पूर्ण रुपमा क्षति भएको छ ।’ उनले भने,‘पुल बाढीपहिरोले बगाएका कारणले राजमार्ग पूर्ण रुपमा अबरुद्ध भएको छ ।’
बुधबार बेलुकीदेखिको वर्षाले कर्णाली राजमार्गको गगने खोला, एस मोड, जितेगडा, सेरिघाटलगायतका ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको र दैखोलाको पक्की पुल भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताए । ‘एस मोडमा ठूलो ढुंगा खसेर सडक पूरै बन्द छ ।,’ उनले भने, ‘सेरिघाटमा पनि ठूलै पहिरो छ ।’
त्यस्तै, कर्णाली करिडोरको फुगाड जलविद्युत् आयोजनाको सुरुङ खनेको रेंगिल भिरनजिकै माथिबाट खसेको लेदोसहित पहिरो खसेको कर्णाली करिडोर पनि अबरुद्ध रहेको सूचना अधिकारी केसीले जानकारी दिए ।