लैङ्गिक हिंसा सम्बन्धि शुभकालीकामा अभिमुखिकरण सम्पन्न


कालीकोटः लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण योजना निमार्ण तर्जुमा तथा विस्तृत कार्ययोजना र लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
शुभकालीका गाउँपालिकाको आयोजना, सशक्त महिला समुह नेपालको सहयोग तथा सोसेक नेपाल दैलेखको समन्वयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला विभिन्न संघसंस्थाको सहयोगमा लैङ्गिक हिंसा न्यूनिकरणका लागि अभिमुखिकरण गरिएको थियो ।
शुभकालीका गाउँपालिका–५ का वडाध्यक्ष भिमबहादुर शाहीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाही सहित विभिन्न शाखामा कार्यरत कर्मचारीको उपस्थितिमा भएको अभिमुखिकरण कार्यक्रममा बोल्दै लैङ्गिक हिंसा रोक्नका लागि गाउँपालिकाले जनचेतना मुलक कार्यक्रम संचालन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाहीले बताए ।
उनले भने, ‘लैङ्गिक हिंसा रोक्न शिक्षा, चेतना र कानुनी कार्वाहीको महत्वपूर्ण भुमिका हुन्छ ।’ त्यस्तै महिला तथा बालबालिका शाखा प्रमुख अमृता न्यौपानेले लैङ्गिक समानता र हिंसाविरुद्धका शिक्षा र कार्यक्रम संचालन गर्नु आवश्यक रहेको बताइन् । उनले बालबालिका र युवाहरुलाई सुरुदेखि नै सम्मान समानता र मानव अधिकारको महत्व सिकाउनुपर्ने धारणा राखिन् ।
अभिमुखिकरण कार्यक्रममा बोल्दै सोसेक नेपाल दैलेखका फिल्ड अफिसर नम नेपालीले गैरसरकारी संघसंस्थाले मात्रै भन्दा पनि स्थानीय सरकारकाले हिंसा न्युनिकरणका लागि नीति योजना र कार्यक्रम संचालनमा गर्नुपर्नेमा जोड दिए । उनले अहिले पनि सोसेक नेपाल दैलेखले शुभकालीकामा रहेर लैङ्गिक हिंसा रोक्न र हिंसाबाट प्रभावित व्यक्तिलाई मनोबैज्ञानिक, आर्थिक र सामाजिक, पीडितका लागि सुरक्षित स्थान र परामर्श सेवा दिदै आएको जानकारी गराए ।
कर्णालीपाटी । २ पुष २०८१, मंगलवार ०९:४७