एक करोडको लागतमा खानेपानी आयोजना बन्दै


कालीकोट । खानेपानीको अभाव झेलिरहेको कालीकोटको नरहरिनाथ गाउँपालिका–९ लालुको शीतलामा एक करोड पाँच लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिँदै छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लामार्फत ‘एक घर एक धारा’ अन्तर्गत सो आयोजना बन्न लागेको हो ।
चालु आर्थिक वर्षभित्रै नरहरिनाथ(९ लालुको शीतलास्थित दलित बस्ती खानेपानी आयोजना बन्न लागेको छ । एक घर एक खानेपानी धारा बनाउने योजनाका साथ लालुको शीतला रहेका ११८ दलित बस्तीका घरधुरीमा खानेपानीका धारा बन्ने नरहरिनाथ–९ का वडाध्यक्ष प्रदीप बोहराले बताए ।
‘अब दलित बस्तीका सबै घरधुरी खानेपानीको प्रत्यक्ष पहुँचमा पुग्नेछन,’ उनले भने ।
वडा नं ९ लालुका नौ सय घरधुरीमध्ये सात सय ३३ घरधुरीमा खानेपानीको धारा पुगेको छ । ‘वडाका सबै बासिन्दालाई खानेपानीको पहुँचमा ल्याउने लक्ष्य छ,’ उनले भने, ‘शीतलाको दलित बस्तीमा खानेपानी पुगेमा सबै घरधुरीमा खानेपानीको सहज पहुँच हुनेछ ।’
वर्षौंदेखि कसैको नजर नपुगेको दलित समुदायको बस्ती रहेको शीतलामा चालु आर्थिक वर्ष खानेपानीको आयोजना बन्न लागेको स्थानीय प्रेमबहादुर दर्जीले बताए । ‘यो गाउँमा पूरै दर्जीहरुको बस्ती रहेको छ,’ उनले भने ।
शीतलावासीका लागि तीन किलोमिटर टाढाको मुहानबाट खानेपानी ल्याउन लागिएको स्थानीय मकरसिंह दर्जीले बताए । ‘अब खानेपानीका लागि टाढा–टाढा जानुपर्ने बाध्यता हट्नेछ,’ उनले भने ।
कर्णालीपाटी । २२ पुष २०८१, सोमबार ११:२०